श्रावण २४,२०७९ / १२ : ४९ अपरान्ह / 2022-08-09 12:49 pm

        राष्ट्रियसभाका २० सांसदको पदावधि आज सकिँदै

        - ५ महिना अगाडि
        फागुन २०,२०७८

        संघीय संसदअन्तर्गत राष्ट्रियसभाका २० सांसदको पदावधि आज सकिँदै छ ।

        निर्वाचित १९ जना र सरकारको सिफारिसमा राष्ट्रपतिबाट नियुक्त एक गरी २० जनाको पदावधि सकिन लागेको हो ।

        पदावधि सकिनेमा नेकपा एमालेका आठ, नेपाली कांग्रेसका तीन, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका चार/चार तथा सरकारको सिफारिसमा राष्ट्रपतिबाट नियुक्त एक जना छन् ।

        राष्ट्रियसभाबाट आज विदाइ हुनेहरुमा एमाले सांसदहरु सुमनराज प्याकुरेल, परशुराम मेघी गुरुङ, कोमल वली, कविता बोगटी, चक्र स्नेही, नैनकला ओझा, रामलखन चमार र अगम वान्तवा राई छन् ।

        माओवादी केन्द्रका शशीकला दाहाल, दीनानाथ शर्मा, जीवन बुढा र खिमकुमार विक, नेकपा एकीकृत समाजवादीका ठगेन्द्रप्रसाद पुरी, शेरबहादुर कुँवर, उदया शर्मा पौडेल र शान्तिकुमारी अधिकारी पनि बिदा हुँदैछन् । 

        यस्तै, नेकपाली कांग्रेसका राधेश्याम अधिकारी, तारादेवी भट्ट र दृगनारायण पाण्डे पनि बिदा हुँदैछन् । अर्का मनोनित सांसद रामनारायण बिडारी पनि बिदा हुँदैछन् ।

        २०७४ साल फागुनमा राष्ट्रियसभाको पहिलो निर्वाचनबाट निर्वाचित भएका ५९ सदस्यमध्ये गोलाप्रथाबाट उनीहरुको ४ वर्षे कार्यकाल कायम भएको थियो ।

        भोलिबाट खाली हुने २० मध्ये १९ पदका लागि नयाँ सांसद‍् निर्वाचित भइसकेका छन् । निर्वाचित नयाँ सांसदलाई भोलि बिहान ११ बजे सिंहदरबारस्थित कानून, न्याय तथा मानव अधिकार समितिको कार्यकक्षमा शपथ खुवाउने कार्यक्रम रहेको छ ।

          सम्बन्धित समाचारहरु