काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले बैशाखमै स्थानीय तहको निर्वाचन भएपनि सामना गर्न तयार रहेको बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित पार्टी निकट निजामती कर्मचारी संगठनको राष्ट्रिय भेलामा अध्यक्ष नेपालले यस्तो बताएका हुन् । उनले आफु चुनावबाट नआत्तिएकोसमेत बताए ।
यस्तै उनले आगामी चुनावसम्म सत्तारुढ गठबन्धन कायम रहने दावी समेत गरेका छन् ।
उनले नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली आगामी निर्वाचनसम्म सत्ता गठबन्धन फुटाउन चर्को रुपमा लागि परेको आरोप लगाए ।
प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाली कांग्रेसका नेताहरु सत्ता गठबन्धनलाई कायमै राखेर निर्वाचनमा जान प्रतिवद्ध रहेको उनको भनाई छ ।
उनले भने, ‘चुनावसँग हामी आत्तिएका छैनौं । चुनाव यही बैशाखमै हुन्छ भने पनि हामी हामी सामना गर्न तयार छौं । चुनाव यदि जेष्ठमा हुन्छ भने पनि हामी सामना गर्न तयार छौं । असारमा गर्ने हो भने सामना गर्न तयार छौं । असोजमा गर्ने हो भने सामना गर्न तयार छौं । स्थानीय तहको पहिले हुन्छ भने पनि सामना गर्न तयार छौं । केन्द्रिय चुनाव पहिले हुन्छ भने पनि सामना गर्न तयार छौं । चुनावबाट हामी आत्तिएका छैनौं ।’
उनले जनतामा जाने कुराले खुसी मिल्ने बताए । उनले चुनावबाट नेकपा एमाले आत्तिएको आरोप लगाए । उनले गठबन्धन पनि तोड्न खोजेको आरोप लगाए । उनले भने, ‘स्वयम् प्रधानमन्त्रीले पनि त्यही हिसावको प्रतिवद्धता व्यक्त गर्नु भएको छ । गठबन्धन दलले जे निर्णय गर्छ, त्यसको आधारमा म चल्न तयार छु । र, गठबन्धनले जहिले चुनाव गर्ने भन्छ, त्यसको निम्ति पनि म जान तयार छु भनेर भनि सकेको हुनाले त्यसमा कुनै पनि किसिमको शंका, उपशंका गर्नुपर्ने आवश्यक्ता छैन ।’