श्रावण २४,२०७९ / १२ : ४५ अपरान्ह / 2022-08-09 12:45 pm

        कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै, यी एजेण्डा माथि हुँदैछ छलफल !

        - एक हप्ता अगाडि
        माघ १४,२०७८

        काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज (शुक्रबार) बस्दै छ ।

        पार्टीको केन्द्रीय कार्यसम्पादन समिति गठन, स्थानीय तहको निर्वाचनलगायत विषयमा छलफल गर्न आज केन्द्रीय कार्यसमितिको बैठक बस्न लागेको हो। 

        बैठक दिउँसो ३ बजे बाट सुरु हुने भनिएपनि अहिले केहिवेर पछिबाट मात्र सुरु हुने बताइएको छ । भर्चुअल माध्यमबाट बस्न लागेको बैठकमा अन्य समसामयिक राजनीतिक विषयमा समेत छलफल हुने पार्टी केन्द्रीय कार्यालयले जनाएको छ । 

        गत मंसिरमा सम्पन्न १४ औँ महाधिवेशनबाट निर्वाचित वर्तमान केन्द्रीय समितिको बैठक यसअघि दुईपटक सम्पन्न भइसकेको छ भने कोभिड–१९ को बढ्दो संक्रमणका कारण तेस्रो बैठक भर्चुअल माध्यमबाट हुन लागेको हो ।

        पार्टीको १४ औँ महाधिवेशनमा १३४ पदाधिकारी र सदस्यको निर्वाचन भएको थियो भने ३३ सदस्य केन्द्रीय सभापतिले मनोनीत गर्ने विधानमा व्यवस्था छ । त्यसमध्ये प्रधानमन्त्री एवं पार्टीका केन्द्रीय सभापति शेरबहादुर देउवाले विधानबमोजिम १३ सदस्य मनोनीत गरिसकेका छन् ।

        कांग्रेस विधानको दफा २३ अनुसार केन्द्रीय कार्यसम्पादन समितिमा केन्द्रीय कार्यसमितिका सभापति, उपसभापति, महामन्त्री, कोषाध्यक्ष र सहमहामन्त्री, पदेन सदस्य हुने व्यवस्था छ । त्यस्तै, सभापतिले कार्यसमितिका सदस्यमध्येबाट समावेशी सिद्धान्त समेतलाई ध्यानमा राखी केन्द्रीय कार्यसम्पादन समितिका लागि ३१ सदस्य कार्यसमितिको बैठकमा प्रस्ताव गर्नेछन् ।

        उक्त प्रस्तावलाई कार्यसमितिको बहुमतले अनुमोदन गर्ने विधानको व्यवस्था छ । संसदीय दलको नेता र केन्द्रीय प्रवक्ता केन्द्रीय कार्यसम्पादन समितिको पदेन सदस्य हुनेछन् । केन्द्रीय कार्यसम्पादन समितिको बैठक प्रत्येक महिनामा कम्तीमा एकपटक बस्नेछ ।

        कांग्रेसमा हाल सभापति, उपसभापति, महामन्त्री र सहमहामन्त्री गरी १३ पदाधिकारी छन् भने कोषाध्यक्ष र प्रवक्ता मनोनीत हुन बाँकी छ । कांग्रेस संसदीय दलको नेता सभापति देउवा नै भएकाले केन्द्रीय कार्यसम्पादन समिति ४६ सदस्यीय बन्नेछ ।

          सम्बन्धित समाचारहरु