काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र सत्ता गठबन्धनका शीर्ष नेताबीच बालुवाटारमा छलफल भएको छ । प्रधानमन्त्री देउवाले आज (शुक्रबार) बालुवाटारमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेका हुन् ।
गठबन्धनका शीर्ष नेताबीच मुख्यगरि स्थानीय तहको निर्वाचनका विषयमा छलफल भएको बालुवाटार स्रोतले जानकारी दिएको छ । भेटवार्तामा स्थानीय तहको निर्वाचनसहित ऐन संशोधनलगायतका विषयमा समेत छलफल भएको बताइएको छ । देउवालाई कांग्रेसका नेताहरुले स्थानीय निकायको चुनाव वैशाखमै गर्न दबाब दिइरहेका छन् । तर, देउवाले गठबन्धनसँग सल्लाह र सुझाव लिएर मात्र अगाडि बढ्न खोजेको देखिएको छ ।
प्रधानमन्त्री देउवाले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका थिए । भेटमा राष्ट्रपति भण्डारीले पनि स्थानीय तहको निर्वाचनका बारेमा चासो व्यक्त गरेकी थिइन् । भण्डारीले चुनाव वैशाखमा गर्न देउवालाई दबाब दिएकी थिइन् । देउवाले भण्डारीसँगको भेटपछि शीर्ष नेतासँग भेट्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
प्रचण्ड र नेपाल चुनाव वैशाखमा नगर्ने पक्षमा छन् । छलफलमा दुवै नेताले तीनै तहको चुनाव एकैपटक गर्दा आर्थिकभार कम हुने सुझाव दिएको बुझिएको छ ।