भाद्र १,२०७९ / ०३ : ०८ पूर्वान्ह / 2022-08-17 03:08 am

        राष्ट्रियसभा निर्वाचन : सुदूरपश्चिमबाट पनि गठबन्धनका तीनै जना विजयी

        - २ हप्ता अगाडि
        माघ १२,२०७८

        काठमाडौं । राष्ट्रियसभा सदस्यका लागि सुदूरपश्चिममा भएको निर्वाचनबाट गठबन्धनका तीन जना उम्मेदवार विजयी भएका छन् ।

        गठबन्धनका तर्फबाट दलित तर्फका जगत पार्की, गरिमा शाह र नारायणदत्त मिश्रको उम्मेद्वारी रहेको थियो । उनीहरु तीनै जना निर्वाचित भएका छन् । दलित तर्फ गठबन्धनबाट उम्मेदवारी दिएका नेकपा माओवादी केन्द्रका उम्मेदवार जगत पार्कीले १०५ मतभार ल्याएर निर्वाचित भएका छन् । उनका प्रतिद्वन्द्वी एमाले उम्मेदवार नरेश विकले ७९ मतभार प्राप्त गरेका छन् । दलित तर्फका तीन मत बदर भएका छन् । 

        यसैगरी महिला सदस्य तर्फ कैलालीकी गरिमा शाह विजयी भएकी छन् । नेकपा एकिकृत समाजवादीका तर्फबाट उम्मेदवारी दिएकी शाहले प्रदेशसभातर्फ एक हजार ८७२ मतभार र स्थानीय तहतर्फ एक हजार ९६२ मतभार पाएर निर्वाचित भएकी हुन् ।  उनका प्रतिद्वन्द्वी नेकपा एमालेकी उम्मेदवार सन्तोषकुमारी थापाले प्रदेशतर्फ ५७६ र स्थानीय तहतर्फ एक हजार १५२ मतभार प्राप्त गरेकी छन् । 

        यसैगरी राष्ट्रियसभाको खुला सदस्य तर्फ कैलालीका नारायणदत्त मिश्र विजयी भएका छन् । कांग्रेसका तर्फबाट उम्मेदवारी दिएका मिश्र १४३ मतभार ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार डोटीका डिल्लीराज भट्टले ८२ मतभार प्राप्त गरेका छन् । यस्तै दुई मत बदर भए ।

        सुदूरपश्चिम राष्ट्रिय सभाको तीन सदस्यका लागि बुधबार बिहान ९ बजेदेखि सुरु भएको मतदान अपरान्ह ३ बजे सम्पन्न भएको थियो । राष्ट्रिय सभाको १९ सिटमध्ये प्रदेश १ मा तीन, मधेस प्रदेशमा दुई, बागमतीमा दुई, गण्डकीमा तीन, लुम्बिनीमा तीन, कर्णालीमा तीन र सुदूरपश्चिम प्रदेशमा तीन सदस्य चयनका लागि बुधबार निर्वाचन भएको हो ।

          सम्बन्धित समाचारहरु