काठमाडौं, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठक आज बस्दै छ । आज ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा अमेरिकी सहयोग सम्बन्धी सम्झौता मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) विवाद तथा अन्य समसामयिक राजनीतिक विषयवस्तुमा छलफल हुने बताइएको छ ।
यसअघि दुईपटक मिति तोकेर पनि स्थायी समिति बैठक स्थगित भएको थियो । पार्टी विधानमा कम्तीमा १ सातामा एकपटक सचिवालय बैठक बस्ने व्यवस्था भए पनि जेठ १७ यता सचिवालयको बैठक बस्न सकेको छैन ।
खासगरी एमसीसीको बारेमा दलभित्र सहमति जुट्न नसक्दा मिति तोकेर पनि बैठक स्थगित हुँदै आएको छ । एमसीसीबारे पार्टीभित्रै स्पष्ट दुई धार देखिएको छ ।
बैठकको एजेण्डाबारे कुनै जानकारी नआए पनि कोरोना महामारी, एमसीसी लगायत विषयमा छलफल हुने नेकपा स्थायी समितिका सदस्य वेदुराम भुसालले बताएका छन् ।








