काठमाडौं, सरकारले सबै सिमा नाकामा आवागमनमा कडाइ गरेकाे दाबी गरेपनि भारतीय सिमानाकाबाट बिना चेकजाँच हूलका हूल मानिसहरु नेपाल भित्रिएको विषयलाई आइतबारका राष्ट्रिय दैनिक अखबारहरुले मुख्य समाचार बनाएका छन् ।
जोखिमपूर्ण तरिकाले नेपाल फर्किएकाहरुलाई क्वारेनटाइनमा राख्ने त परको कुरा स्वास्थ्य जाँच समेत गरिएको छैन् ।
भारतमा कोरोना भाइरसको संक्रमण विस्तार भएसँगै घर फर्किने नेपालीको संख्या बढेकाले कतिपय नाकामा स्वास्थ्य जाँच त परको कुरा भीड नियन्त्रण गर्न समेत मुस्किल परेको छ । मुख्य नाकामा हेल्थडेस्क राखिए पनि साना नाकामाबाट निर्वाध रुपमा आवागमन भइराखेको आजका पत्रपत्रिकाले लेखेका छन् ।
यसै विषयलाई मुख्य समाचार बनाउँदै आजको कान्तिपुर दैनिकले नाकाहरुमा जोखिमपूर्ण आवागमन शीर्षकमा खबर छापेको छ ।
कान्तिपुरमा प्रकाशित समाचारअनुसार एकै दिनमा कञ्चनपुरको गड्डाचौकी नाकाबाट १३ हजार मानिस नेपाल भित्रिएका छन् भने भैरहवाको सुनौली नाकाबाट दैनिक १६ देखि हजार मासिन भित्रिने गरेका छन् ।
आजको अन्नपूर्ण पोस्ट्ले नाकाबाट हूलका हूल शीर्षकमा मुख्य समाचार छापेको छ भने नागरिक दैनिकले पारिबाट आउनेको लर्को, क्वारेन्टाइनमा नराख्दा जोखिमको उच्च सम्भावना शीर्षकमा खबर लेखेको छ ।
यस्तै नेपाल सरकारले चीनसँग मेडिकल सहयोग माग गरेको विषयलाई पनि नागरिक दैनिकले प्राथमिकताका साथ छापेको छ । अन्नपूर्णले आजदेखि ग्यास सहज हुने नेपाल आयल निगमको दाबीलाई महत्वका साथ प्रकाशित गरेको छ ।
आजको नयाँ पत्रिकाले भने के छ खबर परदेशीको शीर्षकमा मुख्य समाचार छापेको छ ।
भारतमा १५ लाख र तेस्रो मुलुकमा ३५ लाख नेपाली छन् । परदेसिएका नेपाली उच्च शिक्षा र रोजगारीमा सक्रिय मात्र छैनन्, वर्षमा नौ खर्ब रेमिट्यान्स पठाएर जन्मभूमिको अर्थतन्त्र धानेका छन्, यो अभूतपूर्व विपत्मा तिनको अवस्था के छ ? देशले सोध्ने वेला भएको नयाँ पत्रिकाले लेखेको छ ।
विदेशमा हालसम्म चार नेपालीलाई कोरोना पोजेटिभ देखिएको छ । अस्ट्रेलिया र बहराइनमा एक–एक तथा संयुक्त अरब इमिरेट्स (युएई)मा दुईजनामा देखिएको हो । परराष्ट्र मन्त्रालयका अनुसार अस्ट्रेलियामा संक्रमित भएका उपचारपछि डिस्चार्ज भइसकेका छन् ।
बहराइनमा संक्रमितलाई त्यहाँको सरकारले आइसोलेसनमा राखेर उपचार गरेको छ । युएईमा पनि २० र २३ वर्षका दुई नेपाली युवाको उपचार भइरहेको परराष्ट्र मन्त्रालयका अधिकारीलाई उधृत गर्दै नयाँ पत्रिकाले लेखेको छ ।
कान्तिपुरमा प्रकाशित समाचारअनुसार कञ्चनपुरको गड्डाचौकी नाकामा झिसमिसेमै भारतबाट फर्किने नेपाली आइसकेका थिए ।
हेल्थ डेस्कमा जाँच हुँदै थियो । केही बेरमै हुलका हुल यात्रु नाकामा आएपछि जाँच पनि अस्तव्यस्त भयो । एकैपल्ट ३ हजारभन्दा बढी यात्रु आएपछि जाँच त के भीड नियन्त्रण गर्नै हम्मे भयो ।
कञ्चनपुरको गड्डाचौकी नाकास्थित भन्सार कार्यालयको प्रांगणमा शनिबार बिहान भारतबाट आइपुगेका नेपालीको भीड । भारतमा कोरोना संक्रमण बढेपछि त्यहाँ कार्यरत नेपाली एकैपल्ट घर फर्किंदा नाका अस्तव्यस्त बनेको छ ।
कामको खोजीमा भारत पसेकाहरू बिसु पर्व नजिकिँदै गर्दा घर फर्किने पुरानै चलन हो । यस पटक कोरोना (कोभिड–१९) को त्रासका कारण नेपाली कामदार चैते दसैं र बिसु पर्व अगाडि नै घर फर्किएका हुन् । भारतका विभिन्न राज्यमा कोरोना संक्रमण देखिएपछि त्यहाँ अध्ययनरत विद्यार्थीसमेत धमाधम फर्किइरहेका छन् ।
‘एकै पटक यति ठूलो भीड आउला भन्ने हामीले सोचेकै थिएनौं । त्यसअनुसारको तयारी पनि थिएन,’ हेल्थ डेस्ककी इन्चार्ज निर्मला जोशीले भनिन्, ‘एक पटक त हामीलाई सास फेर्नसमेत गाह्रो भयो ।’
उनका अनुसार शनिबार १३ हजारभन्दा बढी नेपाली कामदार भारतबाट घर फर्किएका छन् । हेल्थ डेस्कमा अत्यावश्यक सामग्री र जनशक्तिको अभावका कारण प्रभावकारी स्वास्थ्य जाँच तथा भीड व्यवस्थापन गर्न नसकिएको उनले बताइन् । यहाँ बिहान ५ देखि साँझ ८ बजेसम्म जाँच भइरहेको उनले बताइन् ।