काठमाडौं, राजधानीबाट प्रकाशित बुधबारका राष्ट्रिय दैनिक अखबारहरुले विविध विषयका खबरलाई प्राथमिकताका साथ छापेका छन् ।
आजको अन्नपूर्ण पोस्ट्ले बजारमा माक्समात्रै होइन ग्यासको अभाव भएको विषयलाई मुख्य समाचार बनाएको छ । यतिबेला उपभोत्ताहरुले ११३७ नम्बरमा फोन गरेर गर्ने गुनासो प्राय एउटै छ, 'बजारमा ग्यास र माक्स पाइएन् ।'
हटलाइन नम्बरमा फोन गरेर उपभोक्ताले गरेको गुनासोलाई मुख्य समाचार बनाएको अन्नपूर्ण पोस्ट्ले कोरोनाबाट सबैभन्दा बढि प्रताडित भएको चीन सामान्य बन्दै गएको विषयलाई पनि प्राथमिकताका साथ छापेको छ ।
आजको कान्तिपुर दैनिकले भने उपभोक्ताले गुनासो गर्ने हटलाइन नम्बर ११३७ हतपती नउठ्ने गरेको र उठेपनि उपभोत्ताको गुनासो सुनवाइ नहुने गरेको विषयलाई मुख्य समाचार बनाएको छ ।
वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागको फ्री नम्बरमा पछिल्लो समय गुनासो गर्ने उपभोक्ता बढेपनि गुनासो सम्बोधन भने नहुने गरेको समाचारमा उल्लेख छ ।
यस्तै कामका लागि चीनको ताक्लाकोट पुगेका डेढ सय नेपाली अलपत्र परेको विषयलाई पनि कान्तिपुरले प्राथमिकताका साथ छापेको छ । कोरोना संक्रमण फैलने डरले नाका बन्द गरिएपछि कामको खोजीमा चीन पुगेका उनीहरु चाहेर पनि घर फर्कन नपाएको समाचारमा उल्लेख छ ।
आजको नागरिक दैनिकले भने धनुषामा दाइजोमा मोटरसाइकल नपाएपछि विवाह नै रोकिएको विषयलाई मुख्य समाचार बनाएको छ ।
यस्तै विप्लव समुहमाथि प्रतिबन्ध लगाएको एक वर्षमा सरकारले वार्ता भन्दा पक्राउमा ध्यान दिएको विषयलाई पनि नागरिकले प्राथमिकताका साथ छापेको छ ।
आजको नयाँ पत्रिकाले भने महँगा स्कूलका विद्यार्थी भाडाका थोत्रा बसमा शीर्षकमा मुख्य समाचार छापेको छ ।
छोराछोरी पाठशाला, रातो बंगला र सेन्ट मेरिजमा पढ्छन् भनेर बाबुआमाले आफ्नो प्रतिष्ठा बढाउँछन्, तर अबोध बालबालिका सिट च्यातिएका, काँटी निस्किएका र सिसा फुटेका भाडाका बसमा धुलो खाँदै घन्टौँ सकसपूर्ण यात्रा गर्छन्, थोत्रा र फोहोर बसको यात्राले शारीरिक असुविधा मात्र होइन, बालबालिकाको स्वास्थ्यमा जोखिम पनि बढाएको समाचारमा उल्लेख छ ।