काठमाडौं, राजधानीबाट आज प्रकाशित दैनिक पत्रपत्रिकाले विभिन्न विषयलाई मुख्य समाचार बनाएका छन्।
नागरिक दैनिकले ‘कोरोना बहानामा कालोबजारी’ शीर्षकको समाचार पहिलो पेजमा प्रकाशित गरेको छ। “ग्यास बिक्री डिपोमा उपभोक्ताको भीड बढेको छ। ग्यास आयात घटेर वा अभाव सिर्जना भएर होइन, अनावश्यक अनुमान र हल्लाका कारण त्यस्तो भीड बढेको हो। नेपालमा मासिक करिब ३५ हजार टन ग्यास खपत हुन्छ। “मासिक ४० हजार टन ग्यास भारतबाट आयात भइरहेको छ,” नेपाल आयल निगमले भनेको छ, “आयात रोकिएर अभाव हुने कुनै सम्भावना छैन।” तर, निगमको भनाइप्रति विश्वास गर्नुको सट्टा उपभोक्ता भारतबाट ग्यास आयात कम होला र चुलो बाल्न हम्मे पर्ला भन्दै घरमा सिलिन्डर थुपार्न थालेका छन्। यसले गर्दा ग्यासमा कालोबजारी हुने सम्भावना बढेको छ,” नागरिकले लेखेको छ।
यस्तै, सोही दैनिकले ‘प्रहरीका लत्ताकपडा खरिदमा अनियमितता’ शीर्षकको समाचार पनि पहिलो पेजमै प्रकाशित गरेको छ।
कान्तिपुर दैनिकले २०६४ सालमा नागरिकता पाएका एक लाख ७० हजार ४२ जनाका सन्तान नागरिकताविहीन भएको समाचारलाई मुख्य पेजमा प्रकाशित गरेको छ। कान्तिपुरले उक्त समाचारलाई ‘कहिलेसम्म अनागरिक ?’ शीर्षक दिएको छ। सोही दैनिकले क्षणिक आवेगमा आएर अपराध गर्नेको कथा पनि पहिलो पेजमै प्रकाशित गरेको छ।
नयाँ पत्रिका दैनिकले ‘शब्दमा समानता ः व्यवहारमा विभेद’ शीर्षकको मुख्य समाचार बनाएको छ। समाचार अनुसार पुरुषको औसत मासिक ज्याला १९ हजार चार सय ६४ हुँदा महिलाको ज्याला १३ हजार ६ सय ३० मात्र अर्थात् ३० प्रतिशत कम रहेको उल्लेख छ।
कारोबार दैनिकले भने कोरोना त्रासका कारण आर्थिक वृद्धि खुम्चिने प्रक्षेपणको समाचार प्रकाशित गरेको छ। कारोबारले उक्त समाचारलाई ‘कोरोना त्रास : अर्थतन्त्र संकटमा, आर्थिक वृद्धि खुम्चिने’ शीर्षक दिएको छ।