काठमाडौं, राजधानीबाट आज प्रकाशित दैनिक पत्रपत्रिकाले विभिन्न विषयलाई मुख्य समाचार बनाएका छन्।
कान्तिपुर दैनिकले ‘कोरोना प्रभाव : दर्जनभन्दा बढी आयोजना अन्योल’ शीर्षकको समाचार पहिलो पेजमा प्रकाशित गरेको छ।
“छिमेकी मुलुक चीनबाट फैलिएको कोरोना भाइरस (कोभिड–१९)को प्रभाव नेपालको विकास निर्माणमा समेत पर्न थालेको छ। हालसम्म प्रदेश २ र सुदूरपश्चिमबाहेक सबै प्रदेशका दर्जनभन्दा बढी सरकारी र निजी लगानीका ठूला तथा साना विकास–निर्माण आयोजनाका काममा कोरोनाको प्रत्यक्ष प्रभाव परिसकेको छ। अप्रत्यक्ष प्रभावको लेखाजोखा छैन,” कान्तिपुरले लेखेको छ।
कान्तिपुरका अनुसार राष्ट्रिय गौरवमा धेरै आयोजना प्रभावित भएका छन्। गौतमबुद्ध क्षेत्रीय/अन्तर्राष्ट्रिय विमानस्थलको प्रगति गति घटेको छ। चिनियाँ कम्पनी नर्थवेस्ट सिभिल एभिएसले ठेक्का लिएको विमानस्थलमा कार्यरत प्राविधिकसहितको टोली नयाँ वर्ष मनाउन गएपछि नफर्किएको कान्तिपुरले जनाएको छ।
सोही दैनिकले संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा सांसद्हरूले सेनाका अनियमितता छानबिनको दायरामा आउनुपर्ने माग गरेको विषयलाई पनि पहिलो पेजमै प्रकाशित गरेको छ।
नागरिक दैनिकले ‘८० को मास्कलाई ४५०!’ शीर्षकको समाचार प्रकाशित गरेको छ। यस्तै, सोही दैनिकले ‘मिर्गाैला दातामा महिला बढी’ शीर्षकको समाचार प्रकाशित गरेको छ। समाचार अनुसार नेपाल दक्षिण एसियामा महिला मिर्गाैला दाता बढी भएको देश हो।
अन्नपूर्ण पोस्ट दैनिकले पनि कोरोना भाइरसले अर्थतन्त्र धरासायी पारेको समाचार पहिलो पेजमा प्रकाशित गरेको छ। उसले सो समाचारलाई ‘चक्रव्यूहमा अर्थतन्त्र’ शीर्षक दिएको छ। यस्तै, कोरोना भाइरसका कारण देशभरका प्रतियोगिता स्थगित हुन लागेको समाचार पनि अन्नपूर्णमा प्रकाशित छ।
नयाँ पत्रिका दैनिकले ‘चार महिनासम्म खाजाविहीन विद्यार्थीले अहिले पोषणका नाममा चाउचाउ र भुजा’ शीर्षकको समाचार प्रकाशित गरेको छ। यस्तै सोही दैनिकले ‘प्रधानमन्त्रीको स्वास्थ्य अपेक्षाकृत सुधारोन्मुख’ शीर्षकमा एक कोलम समाचार छापेको छ।
कारोबार दैनिकले ‘अर्थतन्त्रमा कोरोना प्रभावकारे अध्ययन सुरु’ शीर्षकको समाचार प्रकाशित गरेको छ। सोही दैनिकले कोरिया जाने र फर्कनेलाई कडाइ शीर्षकमा अर्काे समाचार छापेको छ।