काठमाडौं, प्रधानमन्त्री केपीशर्मा ओलीको दोस्रो पटकको मृगौला प्रत्यारोपरण सफल भएको विषयलाई आजका पत्रपत्रिकाले मुख्य समाचार बनाएका छन् ।
आजको कान्तिपुर दैनिकले प्रत्यारोपण गरिएको मिर्गौलाले काम थाल्यो शीर्षकमा मुख्य समाचार छापेको छ । यस्तै प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपणमा नेतृत्वदायी भूमिका निर्वाह गरेका प्रा.डा प्रेम ज्ञवालीसँग कुराकानीलाई पनि प्राथमिकताका साथ छापेको छ ।
कान्तिपुरसँगको कुराकानीमा डा ज्ञवालीले प्रधानमन्त्रीको अवस्था सामान्य भैसकेको बताएका छन् । उनले यहि रफ्तारमा रिकभरी भयो भने प्रधानमन्त्रीलाई आइतबार वा सोमबारसम्ममा डिस्चार्ज गर्न सकिने जानकारी दिएका छन् । यस्तै कुनै जटिलता नआए मिर्गौलादातालाई शनिबार वा आइतबार डिस्चार्ज गरिने पनि उनले बताएका छन् ।
आजको नयाँ पत्रिकाले प्रत्यारोपणपछि प्रधानमन्त्रीले भने– म ठीक छु शीर्षकमा मुख्य समाचार छापेको छ । समाचारमा लेखेको छ– प्रधानमन्त्री केपी ओलीको दोस्रोपटक मिर्गौला प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भएको छ ।
शिक्षण अस्पतालका चिकित्सक प्रा.डा. प्रेम ज्ञवाली र प्रा.डा. उत्तमकुमार शर्माको नेतृत्वमा बुधबार साढे चार घन्टा लगाएर मिर्गौला प्रत्यारोपण गरिएको हो । प्रधानमन्त्री ओली र मिर्गौलादाता समीक्षा संग्रौला दुवैको स्वास्थ्य सन्तोषजनक रहेको अस्पतालले जनाएको छ ।
साँझ ओलीलाई होस आएको छ । शल्यक्रिया गरेका डा. ज्ञवालीले भने, ‘होसमा त साँझ (बुधबार) नै आउनुभएको हो । तर, हामीले आराम होस् भनेर निद्रा लाग्ने औषधि दिएका छौँ । कुराकानी गर्नुपरेमा राम्रोसँग गर्न सक्ने अवस्थामा हुनुहुन्छ । हामीले कस्तो छ भनेर सोध्यौँ, उहाँले ठीक छ भन्नुभयो ।’
यस्तै नयाँ पत्रिकाले विभूषण अब वर्षमा ९५ जनाले मात्र पाउने, प्रदेशले दिन नपाउने शीर्षकको खबरलाई पनि प्राथमिकताका साथ छापेको छ । सरकारले विभूषणसम्बन्धी ल्याउन लागेको नयाँ ऐनमा यस्तो व्यस्था गर्न लागिएको समाचारमा उल्लेख छ ।
प्रधानमन्त्रीको मृगौला प्रत्यारोपण शीर्षकको खबरलाई प्राथमिकताका साथ छापेको आजको नागरिक दैनिकले अर्थतन्त्रमा कोरोना त्रासदी, लम्बिए आर्थिक वृद्धि पाँच प्रतिशतभन्दा तल शीर्षकको खबरलाई मुख्य समाचार बनाएको छ ।
आजको अन्नपूर्ण पोस्ट्ले प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण सफल, स्वास्थ्य अवस्था खतरामुक्त शीर्षकमा मुख्य समाचार छापेको छ ।