काठमाडौं, सत्तारुढ नेकपाले संविधान संसोधनका लागि कार्यदल बनाएको देखि प्रधानमन्त्री केपीशर्मा ओलीले राजा महाराजाले जसरी जन्मदिन मनाएको विषयलाई आजका पत्रपत्रिकाले मुख्य समाचार बनाएका छन् ।
आजको नयाँ पत्रिका दैनिकले कम्युनिस्ट प्रधानमन्त्रीको राजसी जन्मोत्सव, प्रधानमन्त्रीलाई भेट्न विद्यार्थीहरू घन्टौँ हिँडेर आए शीर्षकमा मुख्य समाचार छापेको छ । समाचारमा लेखिएको छ– कम्युनिस्ट प्रधानमन्त्री केपी ओलीले आफ्नो ६९औँ जन्मोत्सव राजसी ठाँटले मनाएका छन् ।
गाउँपालिकाले सार्वजनिक बिदा दिँदै कर्मचारी, शिक्षक र विद्यार्थीलाई जन्मोत्सव कार्यक्रममा उपस्थित हुन उर्दी गरेको थियो । झापाबाट क्याटरिङ झिकाएर करिब ६ हजारलाई भोज खुवाइएको समाचारमा उल्लेख छ ।
प्रधानमन्त्रीलाई बधाई दिन यती समूहका अध्यक्ष ल्हाक्पा सोनाम शेर्पा छुट्टै हेलिकोप्टरमा १५ किलोको केक लिएर आठराई पुगेका थिए । नेपालको नक्सा आकारको केक प्रधानमनन्त्री ओलीले काटेर आफूले पनि खाए भने अरुलाई पनि खुवाए । देशको नक्सा काटेर खाएको भन्दै उनको सर्वत्र आलोचना भएको छ ।
आजको नागरिक दैनिकले जन्मोत्सवमा ओली महोत्सवमा दाहाल शीर्षकमा मुख्य समाचार छापेको छ । ओली आफ्नो जन्मदिन मनाउन व्यस्त हुँदा नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड धनुषामा मिथिला माध्यमिकी परिक्रमा नामक धार्मिक कार्यक्रममा व्यस्त बनेका थिए । यस्तै जिटुजी र नीतिगत निर्णयका आधारमा वर्तमान सरकारका मन्त्रीहरुले भ्रष्टाचार गर्ने गरेको विषयलाई पनि नागरिक दैनिकले प्राथमिकताका साथ छापेको छ ।
आजको कान्तिपुर दैनिकले नेकपा नेता वामदेव गौतमका लागि संविधान संसोधनको तयारी गरिएको विषयलाई मुख्य समाचार बनाएको छ । राष्ट्रिय सभा सदस्य बनाउन लागिएका गौतमका लागि राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्री हुन पाउने गरि संविधान संसोधनको तयारी गरिएको समाचारमा उल्लेख छ । यस्तै कान्तिपुरले जो बाँस्कोटाका योजनाकार थिए शीर्षकको खबरलाई पनि प्राथमिकताका साथ छापेको छ । सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेलले सेक्युरिटी प्रेस स्थापनाका लागि शंकास्पद भूमिका खेलेका थिए ।








