काठमाडौं, राजधानीबाट प्रकाशित बुधबारका राष्ट्रिय दैनिक अखबारहरुले विविध विषयका खबरलाई प्राथमिकतामा पारेका छन् ।
आजको अन्नपूर्ण पोस्ट्ले बाबुराम भट्टराई नेतृत्वको तत्कालिन सरकारले नेपाल ट्रस्टको १७३ रोपनी जग्गा व्यक्तिको नाममा नामसारी गरेकाे विषयलाई मुख्य समाचार बनाएकाे छ । उसले 'यसरी गयो ट्रस्टको १७३ रोपनी व्यक्तिका नाममा' शीर्षकमा खबर लेखेको छ । समाचारमा लेखिएको छ– तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराई र तत्कालीन उपप्रधानमन्त्री विजयकुमार गच्छदारले व्यक्तिका नाममा मोही दर्ता गरिदिएका काठमाडौंका १७३ रोपनी जग्गा आफ्नो नाउँमा ल्याउनुपर्ने सिफारिस नेपाल ट्रस्टको कार्यालयले गरेको छ।
यस्तै ह्याचरी उद्योग संघले चल्ला उत्पादनमा सिन्डिकेट लागू गरी सातामै १२ करोड २५ लाख लुटेको विषयलाई पनि अन्नपूर्णले प्राथमिकताका साथ छापेको छ।
आजको नागरिक दैनिकले काठमाडौं महानगरमा भइराखेको मनपरीलाई मुख्य समाचार बनाएको छ । काठमाडौं महानगरको ढुकुटीमा मनपरी, जनताले तिरेको कर जनप्रतिनिधिको खल्तीमा शीर्षकमा खबर छापेको छ । यस्तै सेक्युरिटी प्रिन्टिङ प्रेस स्थापनाका लागि प्रस्ताव गर्ने कम्पनीको योग्यतामाथि नै प्रश्न उठेको विषयलाई पनि नागरिकले प्राथमिकताका साथ छापेको छ ।
सुरक्षण मुद्रण केन्द्रले जोसँग लागत अनुमान तयार गरायोस उसैसँग प्रस्ताव माग गरी प्रक्रिया अघि बढाउनु विधिसम्वत नदेखिएको लेखा समितिले समेत ठहर गरेको समाचारमा उल्लेख छ ।








