काठमाडौं, राजधानीबाट प्रकाशित मंगलबारका राष्ट्रिय दैनिक अखबारहरुले पूर्वसभामुख कृष्णबहादुर महरा निर्दोष ठहर भएको, वुहानबाट ल्याइएका नेपाली सबै सकुशल रहेको लगायतका विषयलाई मुख्य समाचार बनाएका छन् ।
महरा निर्दोष ठहर, अदालतले भन्यो- अभियोग दाबी पुगेन शीर्षकमा मुख्य समाचार छापेको आजको नागरिक दैनिकले सीमाक्षेत्रमा फेरि भारतले हस्तक्षेप गरेको विषयलाई प्राथमिकताका साथ छापेको छ । उसले समाचारमा लेखेको छ- भारतीय पक्षले दार्चुलाको व्याँस गाउँपालिकाको सीमावर्ती नेपाली भूमिमा फेरि हस्तक्षेप गरेको छ । भारतीय पक्षले महाकाली नदीमा एकतर्फी काठेपुल राख्नुका साथै नेपाली भूमिमै आएर डोजर प्रयोग गरी सयौं मिटर सडक खनेको छ। यस्तै भारतले अक्रिमण गरेको कालापानी क्षेत्रको अवलोकन गर्न निस्किएका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले कालापानीवरैबाट फर्किएका छन् । बाक्लो हिउँका कारण हेलिकोप्टर ल्यान्ड गर्न नसकेपछि उनी कालापानी नपुगी फर्किएको समाचारमा उल्लेख छ ।
महरा निर्दोष शीर्षकमा मुख्य समाचार छापेको आजको अन्नपूर्ण पोस्ट्ले चीनबाट फर्किएका सबै सकुशल रहेको विषयलाई प्राथमिकताका साथ प्रकाशित गरेको छ । अन्नपूर्णले लेखेको छ– राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका सरुवा रोग विशेषज्ञ (भाइरोलोजिस्ट) डा. रञ्जित शाह नेतृत्वको खटिएको टोलीले चीनबाट फर्किएका सबै नेपालीको घाँटी र नाकको स्वाव संकलन गरेको छ । कोभिड–१९ संक्रमणपछि चीनबाट उद्धार गरी ल्याइएका नागरिकलाई भक्तपुर खरिपाटीस्थित क्वारेन्टाइनमा राखिएको छ। उनीहरूलाई त्यहाँ कम्तीमा १४ दिनसम्म राखिनेछ।
आजको कान्तिपुर दैनिकले भने दिल्लीबाट उड्न इन्ट्री परमिट अनिवार्य शीर्षकमा मुख्य समाचार छापेको छ। उसले लेखेको छ– परराष्ट्र मन्त्रालयले गरेको औपचारिक आग्रहपछि भारतीय अध्यागमनले ‘नेपालका स्थलमार्गबाट दिल्ली पुग्ने नेपाली यात्रुले विमानबाट काठमाडौं फर्कन नपाउने’ नियम अनिवार्य गरेको छ । दिल्लीस्थित नेपाली दूतावासले जारी गरेको सूचनामा यात्रुले आफ्नो राहदानीमा ‘प्रस्थान छाप’ (डिपार्चर स्टाम्प) भएको अवस्थामा मात्रै भारतीय अध्यागमनले ‘आगमन छाप’ (एराइभल स्टाम्प) लगाउने स्पष्ट प्रबन्ध कायम भएको जनाएको छ ।
आजको नयाँ पत्रिकाले लघुवित्तले लघुउद्यमी पीडामाः सहरमा गाडी र जग्गा किन्नेलाई भन्दा गाउँमा तरकारी लगाउनेलाई चर्को ब्याज शीर्षकमा मुख्य समाचार छापेको छ । चर्को ब्याज र किस्ताको तनावले विपन्न परिवारका व्यक्तिले आत्महत्या गर्ने गरेको समाचारमा उल्लेख छ ।








