काठमाडौं, राजधानीबाट प्रकाशित आइतबारका राष्ट्रिय दैनिक अखबारहरुले संसद्मा प्रधानमन्त्रीले गरेको सम्बोधन र कोरोना भाइरसबाट आतंकित १७५ नेपालीलाई स्वदेश फर्काइएको विषयलाई प्राथमिकताका साथ छापेका छन् ।
आजको नागरिक दैनिकले संसद्मा प्रधानमन्त्रीको दाबी, अनुभूति हुनेगरी परिवर्तन भएको छ शीर्षकमा मुख्य समाचार छापेको छ । यस्तै चीनबाट नेपालीको उद्धार, १७५ भित्रिए, ६ जना विमानस्थलमा रोकिए शीर्षकको खबरलाई प्राथमिकताका साथ प्रकाशित गरेको छ ।
अन्नपूर्ण पोस्ट्ले बल्ल उद्धार शीर्षकमा खबर लेखेको छ भने आफ्नो कार्यकालको २ वर्ष पुगेको अवसरमा प्रधानमन्त्री केपीशर्मा ओलीले गरेको सम्बोधनलाई मुख्य समाचार बनाएको छ ।
आजको नयाँ पत्रिकाले संसद्मा प्रधानमन्त्री, सरकारको प्रतिरक्षा, विपक्षीलाई कटाक्ष शीर्षकमा मुख्य समाचार छापेको छ । चीनबाट १७५ नागरिकको उद्धार भएको विषयलाई पनि नयाँ पत्रिकाले प्राथमिकताका साथ छापेको छ ।
आजको कान्तिपुर दैनिकले भने प्रधानमन्त्रीले संसद्मा भारतले हडपेको नेपाली भूभाग नै फिर्ता ल्याउने दाबी गरिरहदा भारतले महाकालीवारी नेपाली भूमिमा सडक खनेको विषयलाई मुख्य समाचार बनाएको छ । दार्चुलाको उत्तरी सीमा व्यास क्षेत्रमा भारतले नेपाल भूमिमै आएर करिब आधा किलोमिटर सडक खनेको समाचारमा उल्लेख छ ।








