काठमाडौं, राजधानीबाट प्रकाशित आजका राष्ट्रिय दैनिक पत्रीकाहरुले विविध विषयका खबरलाई मुख्य समाचार बनाएका छन् ।
आजको नागरिक दैनिकले प्रचण्डका घरबेटी ठेकेदार शारदाप्रसाद अधिकारीले चलाएको अलकत्रा काराखाना गैरकानुनी भएको खुलासा गर्दै यसै विषयलाई मुख्य समाचार बनाएको छ । बालुवा र गिटी को डिपो खोल्न अनुमति लिएर चार वर्षदेखि अलकत्रा उद्योग चलाइरहेको समाचारमा उल्लेख छ । कारखानाकाले पारेको असरबारे प्रबन्धकसँग गुनासो गर्न जाँदा जिउँदै जलाउने धम्की दिएको स्थानीयको आरोप छ । कारखानाबाट परिचालित गुन्डाको कारबाहीमा पर्ने डरमा धेरैजसो स्थानीय बोल्नसमेत डराउँछन्।
यस्तै नागरिकले शिक्षक तिलकराम नेपालीलाई माओवादीले मृत्युदण्ड दिनुअघि २०५८ चैत १२ गते लेखेको आठ पेज लामो अन्तिम पत्रको विषयलाई पनि प्राथमिकताका साथ छापेको छ । उसले सशस्त्र द्वन्द्वको चहर्याइरहने घाउः शवमै राखिएको थियो अन्तिम पत्र शीर्षकमा खबर लेखेको छ ।
आजको कान्तिपुर दैनिकले निर्मला पन्त हत्या काण्डका विषयमा एआईजीको प्रतिवेदन खारेज गर्दै दिलीपसिंह विष्ट नै मुख्य दोषी भएको भनि अनुसन्धान अघि बढाइएको विषयलाई मुख्य समाचार बनाएको छ । उनीमाथि थप अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयले अपराध अनुसन्धान विभागमार्फत कञ्चनपुर प्रहरीलाई आइतबार निर्देशन दिएको छ ।
यस्तै कान्तिपुरले अबको आइजीपी को ? शीर्षकको खबरलाई पनि प्राथमिकताका साथ छापेको छ । उसले आइजीपी सर्वेन्द्र खनालको कामको लेखाजोखा पनि गरेको छ ।
आजको नयाँ पत्रिकाले भने आठ आठ हजार डलर लिएर बालबालिका विदेश पठाउने कारोबारमा सरकार शीर्षकमा मुख्य समाचार छापेको छ ।
उसले लेखेको छ– धर्मसन्तानका नाममा २० वर्षमा २६ सय ३३ बालबालिका विदेश पठाएर सरकारले दुई करोड १० लाख ६४ हजार डलर संकलन गरेको छ । तर ती बालबालिका कहाँ कुन अवस्थामा छन् भनेर सोधखोज गर्ने कुनै संयन्त्र छैन ।
यस्तै आजको अन्पूर्ण पोस्ट्ले कोरोना भाइरसको आतंक फैलिएपछि चीनमा उद्धारको पर्खाइमा रहेका डा. गौरव पोखरेल र मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माबीच आइतबार मध्याह्न भएको भिडियो कुराकानीलाई मुख्य समाचारका रुपमा छापेको छ ।
यस्तै आजका अन्य पत्रपत्रिकाले चीनको वुहानबाट चाडो नेपालीलाई फर्काउन राष्ट्रिय मानवअधिकार आयोगले सरकारलाई निर्देशन दिएको विषयलाई महत्वका साथ छापेका छन्।








