काठमाडौं, राजधानीबाट आज प्रकाशित धेरैजसो दैनिक पत्रपत्रिकाले ललिता निवास प्रकरणसम्बन्धी विषयलाई मुख्य समाचार बनाएका छन्।
कान्तिपुर दैनिकले ‘ललिता निवास प्रकरण : किर्ते र ठगीमा पनि कारवाही अघि बढ्दै’ शीर्षकको समाचारलाई पहिलो पृष्ठमा मुख्य समाचार बनाएको छ। “प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ललिता निवास प्रकरणमा संलग्न १७२ जनामाथि किर्ते र ठगीको मुद्दा चलाउन प्रक्रिया अघि बढाएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यही प्रकरणमा १७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको भोलिपल्टै प्रहरीले गृह मन्त्रालयलाई जाहेरीका लागि पत्राचार गरेको हो,” समाचारमा भनिएको छ। यस्तै कान्तिपुर दैनिकले अन्तरिक्षमा ३२८ दिन बिताएर फर्केकी अमेरिकी महिला अन्तरिक्ष यात्री अवतरण भएको समाचार पहिलो पृष्ठमा प्रकाशित गरेको छ।
नागरिक दैनिकले यही विषयसम्बन्धी समाचारलाई ‘शक्तिशालीदेखि अख्तियार हच्कियो’ शीर्षक दिएको छ। “अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी जग्गा व्यक्तिका नाममा ल्याउन निर्णय गर्ने दुई पूर्वप्रधानमन्त्री र जग्गा फिर्ता गर्न मन्जुर हुने दुई जनाविरुद्ध मुद्दा दर्ता नगर्नुलाई अख्तियार हच्किएको भनी टिप्पणी गरिएको छ। जग्गाधनी कुमार रेग्मी र नवीन पौडेलले अख्तियारलाई बयान दिने क्रममा जग्गा फिर्ता गर्न मन्जुर भएको भन्दै अख्तियारले मुद्दा नचलाएको हो,” समाचारमा भनिएको छ।
यस्तै, अन्नपूर्ण पोस्ट दैनिकले ‘पूर्वमन्त्रीको सम्पत्ति छानबिन’ शीर्षकको समाचार प्रकाशित गरेको छ। “सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा मुद्दा चलाइएका उच्च राजनीतिक व्यक्ति र व्यापारिक घरानामाथि अनुसन्धान थालेको छ,” समाचारमा उल्लेख छ। सोही दैनिकले चीनका नेपालीलाई तुरुन्त ल्याउन प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनको समाचारलाई पनि पहिलो पृष्ठमा प्रकाशित गरेको छ।








