काठमाडौं, राजधानीबाट प्रकाशित बुधबारका राष्ट्रिय दैनिक अखबारहरुले सम्पादकहरुसँग प्रधानमन्त्री केपी शर्मा ओलीले तीन घण्टा सँगै बसेर गरेको कुराकानीलाई मुख्य समाचार बनाएका छन् । सरकारका सकारात्मक पक्षबारे नलेखेको आरोप लगाउँदै नेपाली सम्पादकहरूको मन र मुटु छैन भन्दै यसअघि गुनासो गरेका प्रधानमन्त्री ओलीले लामो अन्तरालमा मंगलबार सम्पादकहरुसँग भलाकुसारी गरेका हुन् ।
यसै विषयलाई मुख्य समाचार बनाउँदै आजको कान्तिपुर दैनिकले प्रधानमन्त्रीको फेरिएको अवतार शीर्षकमा खबर लेखेको छ । समाचारमा लेखिएको छ- प्रधानमन्त्री ओलीले सरकारको कार्यशैलीदेखि एमसीसी, केन्द्रीय समिति बैठक, मिर्गौला प्रत्यारोपण, यती प्रकरण, ललिता निवासदेखि पुष्पकमल दाहालसम्म अनेक प्रसंगबारे बोले, तर निकै नरम शैलीमा । विगतमा जस्तो कटाक्ष भरिएका आक्रामक शब्दावली सायद सोचेरै प्रयोग गरिएन । प्रधानमन्त्री ओलीको यस्तो रक्षात्मक अवतार विरलै देखिने गर्छ ।
कान्तिपुर दैनिकले न्यारोबडी खरिदमा नेपाल वायु सेवा निगमका अधिकारीले ४ करोड २८ लाख घुस लिएको खुलासा भएको विषयलाई प्राथमिकताका साथ छापेको छ । यस विषयमा छानविन गर्न संघीय संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिले निदेशन दिएको छ ।
यस्तै आजको अन्नपूर्ण पोस्ट्ले म तीन वर्षै प्रधानमन्त्री चलाउँछु शीर्षकमा मुख्य समाचार छापेको छ। उनले छिट्टै मिर्गौला प्रत्यारोपण गरी बाँकी तीन वर्ष आफैं निरन्तर सरकार चलाउने बताएको समाचारमा उल्लेख छ । समाचारमा लेखिएको छ– ‘अब तीन वर्षसम्म म प्रधानमन्त्री रहने हो। म छिट्टै किड्नी ट्रान्सप्लान्ट गर्छु,’ प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार सम्पादकहरूसँग ओलीले भने, ‘अलि–अलि किड्नीमा समस्या छ। किन अलि–अलि समस्या राख्ने आजको जमानामा पनि ? ’
यस्तै नागरिक दैनिकले पनि बाँकी तीन वर्ष मेरै सरकार शीर्षकमा मुख्य समाचार छापेको छ ।
नयाँ पत्रिकाले कुखुराको मासु र अण्डाको मूल्य अहिलेसम्कै उच्च विन्दुमा पुगेको विषयलाई मुख्य समाचार बनाएको छ। कुखुराको मासु किलोको ४२० र अन्डा प्रतिगोटा १५ रुपैयाँः व्यवसायीले ३० लाख चल्ला र तीन करोड अन्डा नष्ट गरेपछि मूल्य अहिलेसम्मकै उच्च शीर्षकमा उसले खबर लेखेको छ ।








