राजधानीबाट प्रकाशित आइतबारका राष्ट्रिय दैनिक पत्रपत्रिकाहरुले सरकारले चीनको हुबेइ सहरबाट नेपाली फिर्ता ल्याउन लागेको र सत्तारुढ नेकपामा नेतृत्व र सरकारको चर्को आलोचना भएको विषयलाई मुख्य समाचार बनाएका छन् ।
आजको कान्तिपुर दैनिकले चीनबाट फर्काउन लागिएका नेपालीलाई राख्न उपयुक्त ठाउँको खोजी भइरहेको विषयलाई बिशेष प्राथमिकताका साथ छापेको छ भने नेपालमा अस्वभाविक रुपमा अमेरिकाले दबाब दिन सुरु गरेको विषयलाई भने मुख्य समाचार बनाएको छ ।
समाचारमा लेखिएको छ– नेपालस्थित अमेरिकी दूतावासले काठमाडौंमा रहेका केही तिब्बती शरणार्थीलाई यात्रा अनुमतिपत्र (ट्राभल डकुमेन्ट) बनाइदिन परराष्ट्र र गृह मन्त्रालयलाई दबाब दिएको छ ।
नागरिक दैनिकले सरकार र पार्टी नेतृत्वको कडा आलोचना शीर्षकमा मुख्य समाचार छापेको छ भने सरकारले चीनबाट नेपाली फर्काउने तयारी गरेको विषयलाई पनि प्राथमिकता दिएको छ ।
अन्नपूर्ण पोष्ट्ले चीनबाट फर्काइँदै नेपाली शीर्षकमा मुख्य समाचार छापेको छ भने नेकपाको बैठकमा सरकारको चर्को आलोचना भएको विषयलाई प्राथमिकताका साथ प्रकाशित गरेको छ । यस्तै राष्ट्र बैंकले सामाजिक सञ्जालको विज्ञापन मार्फत हुने भुक्तानीमा कडा नियन्त्रण गरेको विषयलाई पनि महत्वका साथ छापेको छ । यो नियमले युटुवमार्फत पैसा कमाउनेहरु सबैभन्दा बढि प्रभावित हुनेछन् ।
आजको नयाँ पत्रिकाले चीनको बुहानबाट नेपालीलाई यसरी फर्काइँदैछ शीर्षकमा न्यूज छापेको छ । हुबेईका चार सहरबाट नेपालीलाई वुहानसम्म बसमा ल्याउने र त्यहाँबाट नेपाल एयरलाइन्सको विशेष विमानमा स्वदेश ल्याउने नेपाल सरकारको तयारी छ । ११ विश्वविद्यालयका १८८ नेपाली विद्यार्थी दूतावासको सम्पर्कमा रहेको र स्वदेश जान इच्छुक छौँ भनेर फारम भरेकालाई फिर्ता लाने तयारी भएको नेपाली दूतावासले जनाएको छ ।








