जेष्ठ १९,२०८३ / ०१ : ४० पूर्वान्ह / 2026-06-02 01:40 am
      • param ad
      • furniture
      • veera Incorporation

      भारतबाट आउनेमा कोरोना तीव्र गतिमा फैलिँदै गएपछि १८ वटा नाका मात्रै खुल्ला

      - ६ वर्ष अगाडि
      जेष्ठ १७,२०७७

      काठमाडौं, भारतबाट आउनेमा कोरोना संक्रमण तीव्र गतिमा फैलिँदै गएपछि सरकारले भारत प्रवासमा रहेका नेपालीका लागि आउने आधिकारिक नाका तोकेको छ ।

       शुक्रबार बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले भारत प्रवासबाट आउनेका लागि आधिकारिक नाका तोकेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायण बिडारीले बताएका छन् ।  बिडारीका अनुसार अब भारतबाट तोकिएका आधिकारिक नाकाबाहेक अन्यत्रबाट आउन पाइने छैन । ती नाकाबाट आउनेको स्वास्थ्य जाँच तथा क्वारेन्टाइनमा राख्नका लागि सरकारले यस्तो कदम चालेको हो। 

      भारतसँगको खुला सीमाको फाइदा उठाउँदै नागरिकहरु जथाभावी प्रवेश गर्न थालेपछि त्यसलाई नियमन गर्न यस्तो कदम चालिएको बिडारीले बताए । ’आधिकारिक नाकाबाट मात्रै नागरिकहरु आइदिए कोरोना परीक्षण तथा क्वारेन्टाइनमा राख्न सजिलो हुन्छ’, बिडारीले भने, ’लुकेर छिरेका नागरिक क्वारेन्टाइनमा नबसिदिँदा जोखिम बढेकाले यस्तो गर्नु परेको हो ।’ समितिले भारतमा रहेका नेपाली नागरिकलाई ल्याउन आधिकारिक रुपमा तोकेका नाकाहरुमा इलामको पशुपतिनगर, झापाको काँकडभिट्टा, बिराटनगरको रानी, सुनौली, ठाडी, माडर, मलंगवा, गौर, वीरगञ्ज र महेशपुर रहेका छन्।

       त्यसैगरी बेहलिया, तौलिहवा, कृष्णनगर, जमुनाह, गौरीफण्टा, गड्डाचौकी, झुलाघाँट र दार्चुलाका नाकाहरुबाट मात्रै अब नेपालीले प्रवेश पाउनेछन् । मन्त्रिपरिषद् बैठकले यसअघि नै विदेशमा अलपत्र परेका नेपाली नागरिकलाई स्वदेश ल्याउने निर्णय गरिसकेको थियो । पछिल्लो समय भारतबाट आएकै नागरिकहरुमा कोरोना देखिएपछि तीव्र गतिमा संख्या बढिरहेको छ । तीन दिनयता सयभन्दा माथिको दरमा कोरोना संक्रमित देखिएका छन्। ती सबै भारतबाटै आएका नागरिक रहेका छन् । अधिकांश संक्रमितहरु क्वारेन्टाइनमै बसेका छन् । 

        सम्बन्धित समाचारहरु