कार्तिक ३०,२०७६ / ०३ : ३४ पूर्वान्ह / 2019-11-16 03:34 am

        मिथिलाञ्चलमा आजदेखि छठ सुरु, आइतबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिने

        - २ हप्ता अगाडि
        कार्तिक १३,२०७६

        जनकपुर,  मिथिलाञ्चलमा बुधबारदेखि विधिवत रुपमा छठ पर्व सुरु भएको छ । ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रौपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरिएको थियो । सो समयमा पाण्डव विराट राजाको दरबारमा बास बसेको उल्लेख छ । लोककथन बमोजिम सोही समयदेखि छठ मनाउने थालिएको हो ।

        छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास छ । यसमा झुप्पा–झुप्पा फल चढाउँदा सूर्य देवता प्रसन्न भई व्रतालुका कुटुम्बसहित सबै सन्तानको भलो हुन्छ भन्ने मान्यता पाइन्छ । यस पर्वमा जो व्रत बस्न सक्दैन उसले अर्को व्रत गर्नेबाट व्रत गराउने गर्छन् । आर्थिक अभाव भएका मानिस भिक्षा मागेरै भए पनि यो पर्व मनाउने गर्छन् ।

        सत्य, अहिंसा, आरोग्य र समृद्धिको रुपमा मनाइने छठको पहिलो दिन आज नुहाएर शुद्ध खानेकुरा खाइ छठ पर्वको शुरुवात हुन्छ । आजको दिन माछा र कोदो खान नहुने धार्मिक मान्यता रहेको सस्कृतिविद्ले बताएका छन् ।

        छठ पूजाको दोस्रो दिन खरना मनाइन्छ । जसअन्तर्गत व्रतालुले दिनभरि उपवास बसेर राति खीर, पुरी लगायतका वस्तुहरु गृह देवता र सूर्य देवतालाई चढाइ अरबा अरबाइन अर्थात बिना नुनको खानेकुरा खाने गर्दछन् ।

        त्यस्तै पर्वको तेस्रो दिन व्रतालुले दिनभरि आ–आफ्ना घरमा नानाथरीका पक्वान्न बनाएर, केरा, स्याउ, उखुसहित विभिन्न प्रकारका माटाका भाँडामा राखेर साँझपख नदी तलाउमा गइ अस्ताउँदो सूर्यलाई अर्घ दिने गर्दछन् ।

        त्यस दिन रातभरि नदी, तलाउ तथा पोखरीको डिलमा जाग्राम बसेर त्यसको भोलिपल्ट अर्थात् आउने आइतबार बिहान उदाउँदो सूर्यलाई ती सबै खाद्य वस्तुले अर्घ दिँदै छठ पर्वको समापन गर्ने गरिन्छ ।

          सम्बन्धित समाचारहरु