विराटनगर : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रूपमा भित्रिएको साढे ३३ किलो सुन तस्करी र सनम शाक्यको हत्याको आरोपमा पक्राउ परेका अभियुक्तहरुको जिल्ला अदालत मोरङले बयान लिन सुरु गरेको छ।
बिहीबारदेखि मोरङ जिल्ला अदालतको ६ नम्बर इजलासमा जिल्ला न्यायधिश नारायण प्रसाद शर्माले बयान लिन सुरु गरेका हुन्। पहिलो दिन टेकराज मल्ल ठकुरी, मोहन काफ्ले, लाक्पा शेर्पा, माधव भनिने मदनप्रसाद घिमिरे, कृष्ण भनिने नरेन्द्र कार्की र राजन कुमारको बयान लिने क्रम सुरु भएको जिल्ला अदालत मोरङका स्रेस्तेदार नवराज दुलालले जानकारी दिए।
अभियुक्तमध्ये टेकराज, मोहन, नरेन्द्रलाई प्रहरीले शनम शाक्यको शवसहित १९ फागुनमा प्रहरीले विराटनगरबाट पक्राउ गरेको थियो। बुधबार अदालतमा मुद्दा दर्ता गरेको ६३ जना मध्ये न्यायिक हिरासतमा रहेको सात जना प्रहरी अधिकारीसहित २९ जनाको बयान लिन सोमबारसम्म लाग्ने श्रेस्तेदार दुलालको भनाइ छ।
यसअघि बुधबार ७ प्रहरी अधिकारीसहित ६३ जनाविरुद्ध अपराधिक समूह स्थापना, सुन चोरी पैठारी, चोरी निकासीको अवैध कारोबार, अपहरण तथा शरीर बन्धक र कर्तब्य ज्यानमा मुद्दा दायर गरिएको थियो । अभियुक्त २९ जना पक्राउ परेका छन् भने मुख्य नाइके चुडामणी उप्रती (गोरे), एसएसपी श्याम खत्रीसहित ३४ जना फरार छन् ।
अदालतमा पेस भएका प्रतिवादीको बयान समाप्त भएपछि उनीहरूको मुद्दाको पेशी तोकी थुनछेक बहस सुरु हुनेछ। मिलेमतोमा अवैध रुपमा सुन तस्कर गर्ने ‘गोरे समूह’ले त्रिभुवन विमानस्थलबाट हालसम्म ३८ सय किलो सुन तस्करी गर्दै १७ अर्ब १ करोड ८० लाख रुपैयाँ राज्यलाई नोक्सान पुर्याएको दाबी गरिएको छ। सरकारी वकिलको कार्यालयले उक्त रकम विगोको रुपमा उनीहरूसँग असुल हुनुपर्ने माग–दावी गर्दै जिल्ला अदालत मोरङमा मुद्दा दायर गरेको थियो।








