काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले नववर्ष २०७५ को अवसरमा सम्पूर्ण नेपालीलाई सुख शान्ति, सुस्वास्थ्य दीर्घायु, भ्रातृत्व, एकता एवं समृद्धिको शुभकामना व्यक्त गरेकी छिन्।
नयाँ वर्षको शुभकामना सन्देश दिँदै राष्ट्रपति भण्डारीले २०७४ देशको राजनीतिक इतिहासमा महत्त्वपूर्ण वर्ष रहेको भन्दै नेपालको संविधानद्वारा निर्दिष्ट राज्य पुनःसंरचनाअन्तर्गत संघीय संसद्, प्रदेशसभा र स्थानीय तहका निर्वाचन सफल रुपमा सम्पन भएको बताएकी छिन्।
राष्ट्रपति भण्डारीले विभिन्न तहका सरकार र संसदीय अभ्यासका अतिरिक्त स्थानीय तहमा न्यायिक समितिमार्फत न्याय निरुपणका प्रक्रियासमेत स्थानीयस्तरमै अघि बढेको भन्दै यसले देशलाई लोकतान्त्रिक विधिबाट समृद्धिको दिशामा अघि बढ्ने ढोकालाई थप सुदृढ तुल्याएको उल्लेख गरेकी छिन्।
उनले विभिन्न तहका जननिर्वाचित निकायमा अभुतपूर्व रूपमा महिलाको प्रतिनिधित्व सुनिश्चित भएको बताउँदै राजनीतिक एवं संवैधानिक परिवर्तनबाट देशलाई सामाजिक समानता एवं आर्थिक समृद्वितर्फ अगाडि बढाउने र संविधानले निर्दिष्ट गरेको समाजवादोन्मुख अर्थव्यवस्थासहित राष्ट्रलाई आत्मनिर्भर बनाउने अवसर प्राप्त भएको उनको भनाइ छ।
देशमा रहेको अथाह प्राकृतिक सम्पदालाई दिगो रूपमा प्रयोग गर्दै मुलुकलाई समृद्व बनाउने दायित्व आम नेपालीको भएको उल्लेख गरेकी छिन्।








