वैशाख १७,२०८३ / ०५ : १७ पूर्वान्ह / 2026-04-30 05:17 am
      • param ad
      • furniture
      • veera Incorporation

      नक्कली स्टिकर रोक्न नयाँ रणनीति: सिआइबीसँग मिलेर संयुक्त अपरेशन, नयाँ स्टिकर प्रयोगमा ल्याइने

      - ८ वर्ष अगाडि
      चैत १८,२०७४
      काठमाडौं। मदिराका बोतलमा नक्कली अन्तुशल्क स्टिकर प्रयोग भएको भेटिएपछि आन्तरिक राजस्व विभागले अत्याधुनिक र सुरक्षित स्टिकर प्रयोग गर्ने भएको छ।

      अहिले प्रयोग भइरहेका स्टिकर सुरक्षित भए पनि त्यसको नक्कली प्रति बनाएर राजस्व छली गरिएको भेटिएपछि विभागले नयाँ स्टिकर बनाउने तयारी गरेको हो। नक्कली स्टिकर प्रयोग गरी राजस्व चुहावट भइरहेको घटना दोहोरिएपछि विभागले स्टिकरनै फेर्न लागेको हो। 'दुरुपयोग गर्न नसकिने अत्यन्तै सुरक्षित स्टिकर प्रयोग गर्न खोजिरहेका छौँ र त्यसका लागि छलफल पनि अघि बढाइसकेका छौँ,' विभागका उपमहानिर्देशक यज्ञ ढुंगेलले बिजमाण्डूसँग भने।

      न्यून गुणस्तरको मदिरामा नक्कली अन्तशुल्क स्टिकर प्रयोग गर्ने र राजस्व छल्ने क्रम बढेपछि सरकारले कडाई गर्न थालेको हो। विभिन्न वस्तुका उत्पादकदेखि बिक्रेतासम्मको अनुगमन गरी नक्कली स्टिकर प्रयोग गर्ने उद्योगमाथि शिलबन्दी गर्ने तथा ती वस्तु जफत गर्ने रणनीति अघि सारिएको छ।

      'गल्ती गर्ने उद्योगलाई उद्योगस्थलमै कारबाही गर्ने र बजारमा पठाइएका वस्तु नियन्त्रणको रणनीति अघि सारिएको छ, केही ठाउँमा गरिएका अनुगमन र निरीक्षणपछि विभागले त्यसमा सफलता पनि प्राप्त गरेको छ,' ढुंगेलले भने, 'यसलाई नियमित बनाउने र अझै कडाई गर्दै जाने हाम्रो योजना छ।'

      अहिले सरकार राजस्व असुलीको दबाबमा छ। फागुन मसान्तसम्म आइपुग्दा लक्ष्यको तुलनामा असुली ६ अर्ब रुपैयाँले कम छ। त्यसको पूर्तिका लागि र रित्तिएको ढुकुटीमा पैसा थप्न अर्थ मन्त्रालयले राजस्वमा कडाई गर्न अर्थमन्त्री डा युवराज खतिवडाले पनि निर्देशन दिइसकेका छन्। त्यसलगत्तै भएको अनुगमनमा केही व्यवसायिक प्रतिष्ठानले नक्कली स्टिकर प्रयोग गरेको पाइएको थियो।

      केही दिनअघि आन्तरिक राजस्व विभागको अनुसन्धान टोलीले नक्कली स्टिकर प्रयोग गरेको आरोपमा धनुषाको सांग्रिला डिस्टिलरी, नारायण डिस्टिलरी, सर्लाहीको अभिनव डिस्टिलरी र झापाको भोलेबाबा लिकर्स र विनर्स लिकर्समा शिलबन्दी गरेको थियो।

      सिआइबीको सहायता
      आन्तरिक राजस्व विभाग तथा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)समेतको परिचालन गरी कडाई सुरु गरिएको हो।

      आन्तरिक राजस्व विभागले मुलुकभर रहेका आफ्ना संयन्त्र तथा नेपाल प्रहरीसमेतको सहभागीतामा अनुगमनमा कडाई गर्न थालेको ढुंगेलले जानकारी दिए। 'कम गुणस्तरका मदिरा र अन्य यस्तै कम गुणस्तरका सामानमा नक्कली स्टिकर प्रयोग भएको पाइएको छ,' उनले भने, 'अनुगमलाई तीव्रता दिएर त्यसलाई नियन्त्रण गर्छौँ।'

      राजस्व सचिव शिशिरकुमार ढुंगाना र सिआइबीका प्रमुख पुष्कर कार्की र विभागका प्रतिनिधिबीच अनुगमन र संयुक्त कारबाही अगाडि बढाउने विषयमा छलफलसमेत भएको थियो। त्यही छलफलपछि सिआइबी र विभागले संयुक्त 'अपरेसन' चलाउने र नक्कली स्टिकर नियन्त्रणमा लिन देशभर अनुगमन थालिएको छ।

      किन हुन्छ नक्कली स्टिकरको प्रयोग?
      मदिराको बोतलमा आन्तरिक राजस्व विभागले जारी गर्ने स्टिकर अनिवार्य गरिएको छ। अन्य उत्पादनभन्दा रक्सी र चुरोटमा राजस्वको दर धेरै छ। धेरै कर तिर्नुपर्ने भएकाले व्यवसायीले नक्कली स्टिकर प्रयोग गरी राजस्व छली गर्ने गरेका छन्। 

      'संसारभरकै अभ्यास हेर्ने हो भने मदिरा र चुरोटमा राजस्वको दर अन्य क्षेत्रभन्दा धेरै हुन्छ, कति देशमा अतिरिक्त कर पनि लगाइएको हुन्छ,' अर्थ मन्त्रालयका एक अधिकारीले भने, 'हाम्रोमा अतिरिक्त कर लगाइएको छैन, करका दर अन्य क्षेत्रभन्दा अलिकति बढि छ। यसलाई गलत अर्थमा बुझ्नु हुँदैन।' बिजमाण्डू  बाट

        सम्बन्धित समाचारहरु