काठमाडौं : मन्त्रिपरिषद्को बैठकले संघीय संसदलाई राष्ट्रपतिले गर्ने सम्बोधनको मिति तय गरेको। सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले चैत १५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदका दुवै सदनलाई संयुक्त सम्बोधन गर्ने तय गरेको हो। राष्ट्रपतिले बिहीबार ४ बजे सम्बोधनको समय तय भएको हो।
त्यस्तै, प्रधानमन्त्रीको जनसम्पर्क सल्लाहकारमा राज्यमन्त्री सरह सेवासुविधा र हैसियत रहनेगरी अच्युत मैनाली र प्रेस सल्लाहकारमा विशिष्ट श्रेणीको सुविधा प्राप्त गर्नेगरी डा. कुन्दन अर्याललाई नियुक्त गरिएको छ। त्यसका अलवा मन्त्रिपरिषद् बैठकमा अर्थ मन्त्रालयले पेश गरेको घरबहाल सम्बन्धी दोहोरो कर नलाग्ने प्रस्ताव पारित गरेको छ। रानीजमरा सिँचाइ लम्कीको जग्गा प्राप्त गर्ने सम्बधी परियोजना सञ्चालन गर्न क्षतिपूर्ति दिने भएको टछ। निर्वाचनका क्रममा बम विस्फोट हुँदा घाइते भएकाहरूको उपचार खर्च र आर्थिक सहयोग गर्ने प्रस्ताव पनि पारित भएको छ। संघीय संरचनामा गइसकेपछि बनेका पदहरूको कूटनीतिक राहदानी प्राप्त गर्ने सम्बन्धमा, जिल्ला समन्वय समितिका संयोजकहरूले पनि उक्त सुविधा प्राप्त गर्ने निर्णय गरिएको छ। त्यस्तै, गाउँपालिका अध्यक्षहरूले पनि संस्थागत राहदानीको व्यवस्था गरिने भएको छ। सरकारले रक्षा मन्त्रालयको प्रस्तावमा १३ जना महासेनानीको म्याद दुई वर्षका लागि थप गरेको छ। आजको बैठकमा प्रधानमन्त्रीको भारत भ्रमणको विषय भने प्रवेश नभएको सूचना तथा सञ्चार राज्यमन्त्री गोकुल बास्कोटाले जानकारी दिए।








