वैशाख २३,२०८३ / ०२ : १० अपरान्ह / 2026-05-06 02:10 pm
      • param ad
      • furniture
      • veera Incorporation

      ग्यास सिलिण्डर पड्किएर आगलागी, १३ घर खरानी

      - ८ वर्ष अगाडि
      चैत ३,२०७४

      विराटनगर : मोरङको ग्रामथान गाउँपालिका-२ वतराईटोलमा ग्यास सिलिन्डर पड्किएर भएको आगलागीमा परी १३ घर खरानी भएका छन् । आगलागीबाट आठ परिवारका १३ घर पूर्ण रुपमा ध्वस्त भएका छन् ।

      घटनामा ५२ लाखभन्दा बढीको क्षति भएपनि मानवीय क्षति भने हुन नपाएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक रामजी कटवालका अनुसारस्थानीय नेपोल सरदारको घरमा खाना पकाउने क्रममा शुक्रबार दिउँसो ४ बजे ग्यास सिलिन्डर विस्फोट भएर आगो आगलागी सुरु भएको थियो । आगो राति अबेर मात्रै नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।


      सिलिन्डर पड्किएर आगो लाग्न सुरु भएसंगै नेपोलका छिमेकीको घरमा पनि आगोले भेटेको थियो । आगोले उनको एक तले फुसको छानो भएको तीनवटा घर पूर्ण रुपमा जलेर नष्ट भएको छ । छिमेकीहरु गोपाल सरदार र महाविर सरदारको घर पनि जलेको छ । खनिलाल सरदारको दुईवटा, सन्तोषीया सरदारको दुईवटा, ननुलाल सरदारको तीनवटा, रामप्रसाद सरदारको दुईवटा घर आगोले जलेर पूर्णरुपमा नष्ट भएको प्र निरीक्षक कटवालले बताए । मुनी सरदारको घरमा संचालन गरिएको किराना पसलसमेत जलेर ध्वस्त भएको प्रहरीले जनाएको छ ।

      स्थानीय महाविर सरदारले अचानक विस्फोटको ठूलो आवाज आएसंगै सल्किएको आगोले वस्ती नै खरानी बनाइदिएको बताए । हावा चलिरहेका कारण आगो नियन्त्रणमा कठिनाई हुँदा आठ परिवारको १३ घर पूर्ण रुपमा जलेर खरानी भएपछि मात्रै आगो नियन्त्रणमा आएको सरदारले जानकारी दिए । आगोबाट घरमा रहेका खाद्यान्न, कागजपत्र, अन्नपात, लत्ताकपडा, नगद र गरगहना केही पनि बचाउन नसकिएको गुनासो गरे ।

      आगलागीबाट घरबार बिहीन भएकाहरु चौरमा त्रिपाल टाँगेर बसिरहेको प्रहरीले जानकारी दिएको छ । आगो नियन्त्रणका लागि पाँचवटा दमकल, नेपाल र सशस्त्र प्रहरी तथा स्थानीय बासिन्दा खटिएका थिए । तर घरहरु जलेर पूर्ण रुपमा नष्ट भएपछि मात्रै आगो नियन्त्रणमा आएको थियो । आगोले जलेर स्थानीयले पालेका सुँगुर र खसी लगायत १४ चौपाय मरेका छन् ।

      आगलागी पीडितलाई रेडक्रस, सुन्दहरैंचा नगरपालिका र ग्रामथान गाउँपालिकाले राहत स्वरुप खाद्यान्न, लत्तापकडा, त्रिपाल र कम्बल वितरण गरेका छन् ।

      सुन पसलमा आगलागी

      त्यस्तै मोरङकै सुनवर्सी नगरपालिका–९ डाईनिया बजारस्थित वृजलाल साहको सुनचाँदी पसलमा आगलागी भएको छ । शुक्रबार राति ८ बजेतिर ग्यास सिलिडर लिक भई अचानक लागेको आगोले नगद ५० हजार, तीन तोला सुनको गहना र ३० तोला चाँदीसमेत जलेर नष्ट भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय रंगेलीका अनुसार आगलागीमा परेर चार लाख ४५ हजार मूल्य बराबरको क्षति भएको छ ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d