बिहीबार दिउँसो १ बजे राजीनामा दिएका पराजुली साँझ ६ बजे बालुवाटारस्थित सरकारी निवास छाडेर कपन सरस्वतीनगरस्थित निजी निवासतर्फ लागे
न्यायपरिषद्का सचिवले बुधबार दिउँसो २ः४५ बजे प्रधानन्यायाधीश गोपाल पराजुलीले अवकाश पाइसकेको पत्र जारी गर्दा नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीको शपथग्रहणको तयारी भइरहेको थियो । अनेक आशंकाबीच पराजुलीले नै अपराह्न साढे ४ बजे राष्ट्रपतिलाई शपथग्रहण गराए ।
बेलुका ७ः२५ बजे नयाँ पत्रिकाकर्मी प्रधानन्यायाधीश निवास पुग्दा पराजुली हातमा कानुनको किताब बोकेर पैदलै प्रधानमन्त्रीनिवासततर्फ लागेका थिए ।
पर्खाल जोडिएको प्रधानमन्त्रीनिवासमा एमाले नेता सुवास नेम्वाङसहित प्रधानमन्त्री केपी ओली प्रतीक्षारत थिए ।
एक घन्टापछि पराजुली आफ्नो निवासमा फर्किए । जाँदा उनी हतास थिए, आउँदा उत्साही । उनले बेलुका ९ बजे नयाँ पत्रिकाकर्मीलाई संक्षिप्त प्रतिक्रियाका लागि भित्र बोलाए ।
उनको भनाइ थियो, ‘म प्रधानन्यायाधीशमा बहाल छु, अदालत जान्छु, पेसी तोक्छु र नियमित काम गर्छु ।’ उनले आफुमाथिको संकट बिहीबारसम्म समाधान हुने संकेत पनि गरेका थिए ।
त्यतिन्जेलसम्म सर्वोच्चका वरिष्ठतम् न्यायाधीश दीपकराज जोशीले आपूmलाई कायममुकायम घोषणा गरिसकेका थिए ।
उनले सञ्चारकर्मीलाई भनिसकेका थिए, ‘कामू प्रधानन्यायाधीशको जिम्मेवारी मलाई आइसकेको छ । भोलि इजलास मै तोक्छु, पराजुली श्रीमान् आएमा चिया खुवाएर ससम्मान बिदा गर्छु ।’
नेपालको न्यायिक इतिहासमा आइपरेको यो अभूतपूर्व अन्योलबीच बिहीबार बिहान प्रधानन्यायाधीशको कुर्सीमा को बस्छ ?
पराजुली कि वरिष्ठतम् न्यायाधीश दीपकराज जोशी ? जान्न उत्सुक मिडियाकर्मीको भीड बिहानै सर्वोच्च परिसरमा जुटिसकेको थियो । ठीक नौ बजे वरिष्ठतम् न्यायाधीश जोशी सर्वोच्च आइपुगे ।
उनी सरासर भित्र गए, प्रधानन्यायाधीशको कुर्सीमा बसे र इजलास तोके । बिदामा गएका भनिएका न्यायाधीशहरु पनि आआफ्नो इजलासमा लागे । सर्वोच्च अदालत सामान्य अवस्थामा चल्न थाल्यो । मात्र, पराजुलीको अत्तोपत्तो थिएन ।
दिउँसो १ बजे पराजुलीले शीतल निवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीलाई राजीनामा पत्र बुझाए । राष्ट्रपति निवास जाँदा उनको गाडीमा झन्डा थियो । फर्कंदा, झन्डा झिकिएको थियो ।
जाँदा नेपाली सेनाका मेजरको नेतृत्वमा अगुवा/पछुवा गाडी थिए, फर्कंदा उनकै गाडीमा नेपाल प्रहरीका असईमात्र थिए ।
पराजुलीसँग शीतलनिवास पुगेका सुरक्षाकर्मी उतैबाट कायममुकायम प्रधानन्यायाधीश जोशीको सुरक्षामा खटिएका थिए ।
प्रधानन्यायाधीशका रुपमा पराजुलीको सुरक्षामा सेनाका सेनानी (मेजर)को नेतृत्वमा २७ जना सैनिक, आन्तरिक सुरक्षाका लागि सइ नेतृत्वमा पाँचजना नेपाल प्रहरी, पछुवाका रुपमा प्रहरीकै स्पेशल टास्क फोर्सका ११ जना र फिल्डमा नेपाल प्रहरीकै आठजना गरी जम्मा २४ जना प्रहरी खटिएका थिए ।
निवर्तमान भएपछि पराजुलीको सुरक्षामा असइको नेतृत्वमा तीनजना प्रहरीमात्रै हुनेछन् । पूर्व प्रधान्यायाधीशले आजिवन यो सुविधा प्राप्त गर्नेछन् ।
पराजुली साँझ ६ बजे नै आफ्ना सबै सरसामान लिएर कपन सरस्वतीनगर स्थित निजि निवास फर्किए ।
उनका एक सहयोगीका अनुसार वालुवाटारमा कर्मचारी र सुरक्षाकर्मीलाई सहयोगका लागि धन्यवाद दिएर बाहिरिएका थिए ।
‘आफ्नो मुद्दा आफैँ हेर्नु पराजुलीको गल्ती’ : दीपकराज जोशी, कामु प्रधानन्यायाधीश
कामु प्रधानन्यायाधीश दीपकराज जोशीले निवर्तमान प्रधानन्यायाधीश गोपाल पराजुलीले आफ्नो मुद्दा आफैँ हेर्नु गलत भएको बताएका छन् ।
‘प्राकृतिक न्यायको सिद्धान्तका आधारमा आफू सम्मिलित मुद्दा आफैँले हेर्नु नै गलत थियो,’ उनले भने, ‘अब न्यायालयमा त्यस्तो हुन दिइनेछैन ।’
सर्वोच्चमा आफ्नै कार्यकक्षमा बिहीबार पत्रकारमाझ उनले अब न्यायालयलाई व्यवस्थित बनाएर लैजाने योजना सुनाए ।
पराजुलीको बहिर्गमन : अवकाश कि राजीनामा ?
अघिल्लो दिन न्यायपरिषद्का सचिवले पदमुक्त भएको घोषणा गर्नु र भोलिपल्ट पराजुलीले राष्ट्रपतिसमक्ष प्रधानन्यायाधीश पदबाट राजीनामा दिनुले अर्को बहस जन्माएको छ– पराजुलीले न्यायपरिषद्को पत्रअनुसार २१ साउनमै अवकाश पाएका हुन् कि उनले राष्ट्रपतिलाई दिएको राजीनामाअनुसार १ चैतमा ?
अझ पराजुलीले अवकाश पाइसकेको भन्ने न्यायपरिषद्का सचिवको पत्रपछि पराजुलीले नै राष्ट्रपतिलाई शपथ गराएकाले पनि यो प्रश्न पेचिलो बनेको थियो ।
तर, राष्ट्रपति कार्यालयले यो विवाद टुंग्याउन खोजेको छ । महान्यायाधिवक्ताको कार्यालयका अनुसार पराजुलीले १ चैतमा राजीनामा दिएकाले सोही दिनसम्म उनको पद बहाल रहेको मानिनेछ ।
‘राष्ट्रपतिले राजीनामा ग्रहण गरेकाले त्यसलाई नै वैधानिक मानिनेछ । न्यायपरिषद्को तत्कालीन बैठकमा अहिलेका कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशी पनि सहभागी थिए ।
यो निर्णय परिषद् बैठकले बदर गरे मात्र पराजुलीको जन्ममिति २१ साउन ००९ कायम रहनेछ,’ महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सञ्जीवराज रेग्मीले भने, ‘राष्ट्रपतिले राजीनामा लिन अस्वीकार गरेको भए प्रधानन्यायाधीश पराजुलीको अवकाश नै भएको मान्न सकिन्थ्यो ।’








