वैशाख १७,२०८३ / ०३ : ५१ पूर्वान्ह / 2026-04-30 03:51 am
      • param ad
      • furniture
      • veera Incorporation

      ​बंगलादेशका मन्त्रीसहितको उच्चस्तरीय टोली काठमाडौँमा

      - ८ वर्ष अगाडि
      फागुन २९,२०७४

      काठमाडौँ: युएस-बंगला विमान दुर्घटनामा परेपछि बं‌गलादेशका नागरिक उड्ययन मन्त्रीसहितको उच्चस्तरीय टोली म‌ंगलबार काठमाडौँ आइपुगेको छ ।

      बंगलादेशका नागरिक उड्ययन तथा पर्यटन मन्त्री एकेएम शाहजाह कमलसहितको टोली मंगलबार अपरान्ह त्रिभुवन विमानस्थलमा अवतरण गरेको हो ।

      सोमबार भएको युएस‍-बंगलाको बोबार्डियर ड्यास क्यु४०० सिरिजको जहाज दुर्घटनापछिको अवस्थाबारे नेपाली पक्षसँग छलफल तथा घटनास्थलको अनुगमनका लागि बं‌गलादेशी मन्त्रीको टोली काठमाडौँ आइपुगेको हो ।

      बंगलादेशकी प्रधानमन्त्री शेखहसिना वाजेदले विमान दुर्घटनाबारे बुझ्न मन्त्रीसहितको टोली पठाएकी हुन् । नेपाल र बंगलादेशबीच विमान दुर्घटनालाई लिएर विवाद भइरहेका बेला उनको आगमन भएको हो । 

      नेपाली पक्षले एयर ट्राफिक कन्ट्रोलरले भनेको निर्देशन अनुसार दक्षिणबाट अवतरण नगरी उत्तर दिशातिर गएर एलाइन्मेन्ट नमिलाई अवतरण गराउँदा जहाज दुर्घटनामा परेको बताएको छ । बंगलादेशले भने एटिसीको गलत निर्देशनका कारण विमान दुर्घटनामा परेको दाबी गर्दै आएको छ । 

      ५० जनाको ज्यान जानेगरी भएको विमान दुर्घटनामा नेपाली र बंगलादेशका धेरै नागरिकको ज्यान गएको थियो । मन्त्रीसँगै बं‌गलादेशको नागरिक उड्ययन प्राधिकरणका सुरक्षा निर्देशक हजरत शाहाजल पनि टोलीमा रहेका छन् ।

      सोमबार ढाकाबाट ६७ यात्रु र ४ चालक दलका सदस्य लिएर उडेको युएस-बंगला एयरलाइन्सको जहाज त्रिभुवन विमानस्थलमा दुर्घटना हुँदा अहिलेसम्म ५० जनाको ज्यान गइसकेको छ ।

      दुर्घटनामा परेको यो जहाजमा ३३ जना नेपाली, ३२ जना बंगलादेशी, २ जना माल्दिभ्सका, एकजना चिनियाँ र चारजना चालक दलका सदस्य सवार थिए ।

        सम्बन्धित समाचारहरु