असार ४,२०८३ / ०८ : ३० अपरान्ह / 2026-06-18 08:30 pm
      • param ad
      • furniture

      आमाको भिसा खर्च नभएका गोलरक्षकले हल्लाए विश्वकप ! यमाल र विलियम्सको जादु फेल, भार्डेको ऐतिहासिक (भिडियोसहित)

      - १ घण्टा अगाडि
      असार ४,२०८३

      आमाको भिसा खर्च नभएका गोलरक्षकले हल्लाए विश्वकप! यमाल र विलियम्सको जादु फेल, भार्डेको ऐतिहासिक खेल

      फुटबल अनिश्चितताको खेल हो भनिन्छ, तर के कुनै टोलीले पहिलोपटक विश्वकप खेल्दै गर्दा र त्यो पनि विश्वकै सबैभन्दा कम रेटिङ भएको देशले, युरो र विश्वकप विजेता स्पेनजस्तो महाशक्तिलाई रोक्न सक्ला? धेरैलाई लागेको थियो— अघिल्लो दिन जर्मनीले कुराकाओमाथि ७-१ को गोलको वर्षा गरेझैँ, स्पेनले पनि यो नवप्रवेशी टोलीमाथि गोलको वर्षा गर्नेछ। फुटबल विश्लेषकहरूले त भार्डेले इतिहासकै सबैभन्दा खराब हार ब्यहोर्ने भविष्यवाणी समेत गरिसकेका थिए।

      तर, जब रेफ्रीको अन्तिम ह्विसल बज्यो, तब अमेरिकाको एटलान्टा रङ्गशालामा एउटा यस्तो इतिहास लेखियो, जसले पूरा खेल जगतलाई निशब्द बनाइदियो।

       

      संसारभरका अन्तर्राष्ट्रिय मिडियाहरूको क्यामरा आज एउटै खेलाडीमाथि फोकस छ। ती हुन्— भार्डेका ४० वर्षीय भेट्रान गोलरक्षक भोजिन्हा ! जसले स्पेनका विश्वप्रसिद्ध स्ट्राइकरहरूका अगाडि चट्टान बनेर एक्लै पहाडझैँ उभिए र खेललाई शून्य-शून्यको बराबरीमा रोकेर सनसनी मच्चाए।

      खेल सकिएपछि जब मिडियाकर्मी उनीकहाँ पुगे, तब उनका आँखा रसाएका थिए। आखिर को हुन् यी ४० वर्षका आमाको भिसा रकम समेत तिर्न नसक्ने गरिब गोलरक्षक, जसले एकै रातमा सोसल मिडियामा ४५ हजारबाट ७.५ मिलियन फलोअर्स कमाए?

       

      स्पेनविरुद्धको यो खेल भार्डेका लागि कुनै युद्धभन्दा कम थिएन। ५ लाखभन्दा कम जनसङ्ख्या भएको यो सानो टापु राष्ट्रका लागि विश्वकपको पहिलो खेलमै स्पेनसँग भिड्नु आफैँमा चुनौतीपूर्ण थियो। खेल सुरु भएदेखि नै स्पेनले आफ्नो परिचित 'टिकी-टाका' शैलीमा खेल पूर्ण नियन्त्रणमा राख्यो। पहिलो हाफमै स्पेनले तीनवटा प्रष्ट गोलका अवसरहरू सिर्जना गरेको थियो। तर, हरेक पटक स्पेनका स्ट्राइकर र बलको बिचमा भोजिन्हा पर्खाल बनेर उभिइदिए।

      दोस्रो हाफमा खेल झन् आक्रामक बन्यो। स्पेनले लगातार बुलेट जस्ता प्रहारहरू गर्‍यो। तर, दोस्रो हाफका चारवटा वन-अन-वन र असाध्यै कठिन गोल प्रयासलाई पनि भोजिन्हाले विफल पारिदिए। स्पेनले खेलभरि गरेका कुल २७ प्रहारहरू मध्ये ७ वटा प्रहार त सिधै फ्रेमभित्र अर्थात् गोल हुने निश्चित दिशामा थिए, जसलाई भोजिन्हाले दर्शनीय रूपमा 'क्लियर' गरे।

      खेल सकिँदा उनी निर्विवाद रूपमा 'म्यान अफ दी म्याच' चुनिए। ४० वर्षको उमेरमा विश्वकप इतिहासमा 'क्लिनसिट' राख्ने उनी सबैभन्दा पाका गोलरक्षक बनेका छन्। खेलपछि उनले भनेका छन्— "यो प्रदर्शन एक किसिमको पागलपन हो। म त यसलाई क्रेज भन्छु!"

       

      यो खेलमा स्पेनका प्रशिक्षक लुइसको एउटा रणनीतिक गल्ती वा ओभर-कन्फिडेन्स पनि उनीहरूका लागि भारी पर्यो। भार्डेलाई कमजोर प्रतिद्वन्द्वी ठानेर प्रशिक्षक लुइसले आफ्ना मुख्य हतियार— बार्सिलोनाका स्टार लामिन यमाल र निको विलियम्सलाई सुरुवाती ११ को लिस्टमा राखेनन्, बेन्चमा बसाए। उनलाई विश्वास थियो कि दोस्रो रोजाइका खेलाडीले पनि भार्डेमाथि सजिलै जित निकाल्नेछन्।

      तर, जब मैदानमा भोजिन्हाको जादु चल्न थाल्यो र पहिलो हाफ गोलरहित बराबरीमा सकियो, तब स्पेनको क्याम्पमा छटपटी सुरु भयो। वर्तमान विश्व फुटबलकै सबैभन्दा उत्कृष्ट र युवा फिनिसर मानिने लामिन यमाललाई प्रशिक्षकले हतार-हतार दोस्रो हाफमा मैदान पठाए। त्यसको केही समयपछि विलियम्स पनि मैदान छिरे। यी दुवै विश्वप्रसिद्ध स्टारहरूले आफ्नो जादु देखाउन खोजे पनि ४० वर्षे पाका गोलरक्षकको आत्मविश्वासका अगाडि उनीहरूको हरेक रणनीति धुलोमा मिल्यो।

       

      मैदान भित्र मात्र होइन, मैदान बाहिर सोसल मिडियामा पनि भोजिन्हाले एउटा यस्तो रेकर्ड बनाए, जसको चर्चा अहिले विश्वभर भइरहेको छ। चालू विश्वकपकै सबैभन्दा पाका खेलाडीका रूपमा रहेका भोजिन्हा आफ्नो देशमा त चर्चित थिए नै, उनी सामाजिक सञ्जालमा पनि उत्तिकै सक्रिय छन्। उनी हरेक खेलपछि पोस्ट गर्छन् र प्रशंसकहरूलाई फुर्सदमा रिप्लाई पनि दिने गर्छन्।

      स्पेनविरुद्धको खेल सुरु हुनुभन्दा अगाडिसम्म उनको इन्स्टाग्राममा सामान्य ४५ हजार मात्र फलोअर्स थिए। तर, खेल सकिएको केही घण्टाभित्रै संसारभरका फुटबल प्रेमीहरू उनको एकाउन्टमा ओइरिए। फलोअर्सको सङ्ख्यामा यस्तो बाढी आयो कि, हेर्दाहेर्दै उनको फलोअर्स ७.५ मिलियन (७५ लाख) नाघिसकेको छ र यो अझै तीव्र गतिमा बढिरहेको छ। सोसल मिडियामा मानिसहरूले लेखेका छन्— "सिङ्गो स्पेनविरुद्ध एक्लो खेलाडी पहाडझैँ उभिए। युरो र विश्वकप विजेताहरूले भोजिन्हाको जीवनकै उत्कृष्ट प्रदर्शनका अगाडि घुँडा टेक्न बाध्य भए।"

       

      यो ऐतिहासिक सफलताको चमक पछाडि एउता निकै भावुक र आँसुले भरिएको पारिवारिक कथा लुकेको छ। स्पेनसँग अंक खोसेपछि भार्डेको नकआउट चरणमा पुग्ने सम्भावना बलियो भएको छ। तर, यो ऐतिहासिक क्षणमा भोजिन्हाको मनमा एउटा ठुलो पीडा छ। उनले खेलपछि भावुक हुँदै मिडियासामु आफ्नो एउटा बाध्यता सुनाए।

      विश्वकपको यत्रो ठुलो मञ्चमा खेल्न आइपुग्दा पनि आर्थिक रूपमा सबल नभएका कारण उनले आफ्नी आमालाई अमेरिकाको रङ्गशालामा ल्याउन सकेनन्। भिसाको प्रक्रिया र अमेरिका आउने महँगो रकम तिर्न नसक्दा उनकी आमा घरमै बस्न बाध्य भइन्।

      भोजिन्हाले आँखा रसाउँदै भनेका छन् — "भिसाको समस्या र आर्थिक अभावका कारण आमा अमेरिका आउन सक्नुभएन। बाल्यकालमा मलाई हुर्काउने हजुरबुबा र हजुरआमालाई पनि मैदानमा देख्न नपाउँदा म निकै भावुक भएँ। मसँग आमालाई यहाँ ल्याउने भिसाको रकम थिएन। अब हाम्रो टोली नकआउट चरणमा पुग्दा म आमालाई रङ्गशालाको प्यारापिटमा मलाई हेरिरहेको देख्न चाहन्छु।"

       

      भोजिन्हाको फुटबल यात्रा पनि सजिलो थिएन। उनले २५ वर्षको ढिलो उमेरमा मात्र व्यावसायिक फुटबल सुरु गरेका थिए। उनले रोमानिया, साइप्रस र पोर्चुगलका तल्लो डिभिजनका क्लबहरूमा सङ्घर्ष गरे। अहिले उनी पोर्चुगिज क्लब 'चाभेस' मा आबद्ध छन्। सन् २०१२ मा राष्ट्रिय टोलीमा डेब्यु गरेका उनले भार्डेका लागि ९० वटा अन्तर्राष्ट्रिय खेल खेलिसकेका छन् र देशलाई पहिलोपटक विश्वकपमा पुर्‍याउन उनी नै मुख्य सूत्रधार थिए ।

       

      ४० वर्षको उमेर, गोजीमा आमाको भिसा खर्च तिर्ने पैसा नभएको अवस्था, तर मुटुमा देशका लागि केही गर्ने दृढ इच्छाशक्ति। भोजिन्हाको यो कथाले प्रमाणित गर्छ कि खेलकुदमा पैसा र नाम भन्दा ठुलो कुरा खेलाडीको आँट र 'क्रेज' हो। उनले विश्वकप इतिहासकै एउटा सबैभन्दा सुन्दर र कहिल्यै नमेटिने पाना लेखिसकेका छन्।

      तपाईंलाई ४० वर्षका यी नायक भोजिन्हाको प्रदर्शन र उनको यो भावुक कथा कस्तो लाग्यो ? के भार्डे यो विश्वकपको नकआउट चरणमा पुग्ला त ?


        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • koshi
            • khanepani