जेष्ठ २८,२०८३ / १२ : २२ पूर्वान्ह / 2026-06-11 12:22 am
      • param ad
      • furniture
      • veera Incorporation

      उदय परियोजनाले महिला उद्यमीलाई देखाउँदै सफलताको नयाँ बाटो

      - १ दिन अगाडि
      जेष्ठ २६,२०८३

      विराटनगर, उत्पादन गरेर पनि बजार नपाएका, लेबलिङ, ब्रान्डिङ र डिजिटल प्रवद्र्धनबारे पर्याप्त जानकारी नहुँदा संघर्ष गरिरहेका महिला उद्यमीहरू आज आफ्नो व्यवसायलाई नयाँ उचाइमा पु¥याउने आत्मविश्वासका साथ अघि बढिरहेका छन् । 

      यसको पछाडि कोशी प्रदेशमा साना तथा मझौला उद्यमहरूको नवप्रवर्तन, क्षमता अभिवृद्धि र आर्थिक सशक्तीकरणका लागि काम गरिरहेको उदय परियोजना को निरन्तर सहयोग र सहकार्यलाई महत्वपूर्ण मानिएको छ ।

      उदय परियोजनाले उद्यमीहरूलाई उत्पादन गर्न मात्र नभई उत्पादनको प्रभावकारी लेबलिङ, ब्रान्डिङ, डिजिटल बजार प्रवद्र्धन, वित्तीय व्यवस्थापन तथा व्यवसाय विस्तारका उपायहरूबारे समेत जानकारी र अवसर उपलब्ध गराउँदै आएको छ । 

      यही उद्देश्यलाई थप प्रभावकारी बनाउने क्रममा विन मोरङ च्याप्टरको आयोजनामा “दूरदर्शी उद्यमशीलता ः नवप्रवर्तन र दिगोपना” विषयक एकदिने महिला उद्यमशीलता तथा नेतृत्व विकास प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । 

      उदय परियोजनाको प्राविधिक सहयोगमा आयोजित कार्यक्रममा कोशी प्रदेशभरिका १०० भन्दा बढी महिला उद्यमी सहभागी भएका थिए । 

      कार्यक्रमको पहिलो सत्रमा उदय परियोजनाका मोहन गौतम ले परियोजनाले साना तथा मझौला उद्यमीहरूका लागि गर्दै आएका गतिविधि, व्यवसाय विकास सेवा, डिजिटल सूचना पोर्टल तथा उद्यमीहरूका लागि उपलब्ध अवसरबारे जानकारी गराएका थिए । साथै भिडियो प्रस्तुतिमार्फत डिजिटल सूचना पोर्टलले उद्यमीहरूलाई कसरी बजार, सूचना, तालिम र विभिन्न सेवासँग जोड्छ भन्ने विषयलाई थप स्पष्ट पारिएको थियो । 

      यस्तै कार्यक्रमस्थलमा उदय परियोजनाको सूचना तथा दर्ता स्टल समेत राखिएको थियो । जहाँ सहभागी उद्यमीहरूलाई डिजिटल सूचना पोर्टलमा दर्ता गराउने, व्यवसाय विकास सेवा (बीडीएस) तथा डिजिटल सूचना पोर्टलका सुविधाबारे प्रत्यक्ष जानकारी प्रदान गरिएको थियो । धेरै महिला उद्यमीहरूले उक्त सेवाबारे जानकारी लिँदै पोर्टलमा दर्तासमेत गरेका थिए ।

      दोश्रो सत्रमा कार्यक्रममा प्रमुख प्रशिक्षक व्यवसाय रूपान्तरण विशेषज्ञ, व्यवसाय एवं कर्पोरेट ट्रेनर सुभाष पौडेलले महिला उद्यमीहरूलाई आत्मपहिचानदेखि व्यवसाय विस्तारसम्मका विषयमा व्यवहारिक प्रशिक्षण दिएका थिए । उनले प्रशिक्षणको सुरुवात नै सहभागीहरूलाई “म को हुँ ?”, “म अहिले कहाँ छु ?” र “म कहाँ पुग्न चाहन्छु ?” भन्ने प्रश्नमार्फत गराएका थिए । स्वरोजगार, कर्मचारी, लगानीकर्ता, उद्यमी र व्यवसायीबीचको फरक बुझाउँदै उनले सफल व्यवसायका लागि सोच, योजना र निरन्तर सिकाइको महत्वबारे अभ्याससहित प्रशिक्षण दिएका थिए ।

      कार्यक्रममा उद्यमीहरूलाई उत्पादनको लेबलिङ कसरी प्रभावकारी बनाउने, ब्रान्डको पहिचान कसरी स्थापित गर्ने तथा सामाजिक सञ्जालमार्फत बजार विस्तार कसरी गर्ने भन्ने विषयमा समेत जानकारी दिइएको थियो । यस्तै कार्यक्रममा अन्य विभिन्न क्षेत्रका बिशेषज्ञहरुले पनि उद्यम विकास, वित्तीय व्यवस्थापन तथा सञ्चार प्रवद्र्धनका विषयमा प्रशिक्षण दिएका थिए ।

      कार्यक्रमकी प्रमुख अतिथि विराटनगर महानगरपालिकाकी उपप्रमुख शिल्पा निराला कार्की, बिशिष्ट अतिथि आर्थिक मामिला तथा योजना मन्त्रालय, कोशी प्रदेशकी प्रशासन महाशाखा प्रमुख तथा उपसचिव राजकुमारी राई, तथा अन्य अतिथिहरुले सहभागी महिला उद्यमीहरूलाई “तपाईंहरूको साथमा उदय परियोजना छ, व्यवसाय विस्तार र विकासका लागि सहयोग गर्ने संयन्त्र छ, त्यसैले डराएर होइन आत्मविश्वासका साथ अघि बढ्नुस् भन्दै हौसला प्रदान गरेका थिए ।

      यस्तै विन मोरङ च्याप्टरकी अध्यक्ष कृति श्रेष्ठ उपाध्यायले महिला उद्यमीहरूको क्षमता विकासका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने बताइन् ।
      प्राविधिक सहयोगी संस्थाका रूपमा रहेको उदय परियोजनाले उद्यमीहरूलाई तालिममा सीमित नराखी सूचना, परामर्श, बजार र व्यवसाय विकास सेवासँग जोड्ने काम गरिरहेको भन्दै सहभागीहरूले कार्यक्रम उपयोगी र प्रेरणादायी भएको प्रतिक्रिया दिएका थिए ।


        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d