एक समय थियो, जब बालेन शाह र हर्क साम्पाङ दुवै जना स्वतन्त्र मेयरका रूपमा उदाउँदा तारा, देशले उनीहरूलाई एउटै सिक्काका दुई पाटा मानेको थियो । दुवैले परम्परागत राजनीतिलाई चुनौती दिएका थिए । तर, समय सधैँ एकनास कहाँ रहन्छ र ? आज बालेन शाह देशको प्रधानमन्त्रीको कुर्सीमा छन् भने, हर्क साम्पाङ ’श्रम संस्कृति पार्टी’ को नेतृत्व गर्दै संसद्मा प्रमुख प्रतिपक्षी वा विद्रोहीको भूमिकामा उभिएका छन् ।
अहिले त्यहि गरीमामय प्रतिनिधिसभा बैठकको दृश्य पूरै बदलिएको छ । प्रधानमन्त्री बालेन शाह संसद्प्रति उत्तरदायी नभएको, प्रश्नहरूबाट भागेको र ’डोजर आतंक’ मच्चाएको भन्दै हर्क साम्पाङसहितका सांसदहरूले संसद्मै हंगामा मच्चाएका छन् । कुरा यतिमै रोकिएन दर्शकवृन्द, “प्रधानमन्त्रीले संसद्मा आएर जवाफ नदिएको“ भन्दै जवाफ खोज्न श्रम संस्कृतिका सांसदहरू कहिले संसद् बैठक नै छाडेर बाहिरिन्छन त कहिले संसदभित्रै प्रर्दशन गर्छन् ।
आखिर संसद्मा के–के भयो ? हर्क साम्पाङले शरीरमै प्लेकार्ड टाँसेर किन विरोध गर्नुभयो ? र, उनले संसद्मा राखेका मागहरू के–के हुन् ?
प्रतिनिधिसभाको पछिल्लो बैठक सामान्य रूपमा चल्न सकेन । सोमबार र मंगलबार लगातार दुई दिन संसद् बैठकमा अनौठो र विरलै देखिने दृश्य देखा प¥यो ।
सोमबार बैठक सुरु हुनासाथ श्रम संस्कृति पार्टीका सांसदहरूले वेल घेरे । उनीहरूको हातमा विभिन्न नारा लेखिएका प्लेकार्ड र पर्चाहरू थिए । पर्चामा लेखिएका नाराहरूले सिधै प्रधानमन्त्री बालेन शाहको कार्यशैलीमाथि प्रहार गरेका थिए । जसमा नाराहरू थिए ः
’प्रधानमन्त्री संसद्प्रति जवाफदेही बन्नैपर्छ’
’प्रश्नदेखि भाग्न पाइँदैन’
’संसद् छलेर अध्यादेश ल्याउन बन्द गर’
’डोजर आतंक बन्द गर’
’दमन होइन संवाद गर’, र ’गरिबलाई मार्न पाइँदैन ।’
काठमाडौं महानगरको मेयर हुँदादेखि नै डोजर चलाएर चर्चा र विवादमा आएका बालेन शाह प्रधानमन्त्री बनेपछि पनि उनको त्यही शैलीलाई लक्षित गर्दै हर्क साम्पाङको पार्टीले ’डोजर आतंक बन्द गर’ भनेर संसद्मै नारा घन्काएको हो ।
सभामुख (डीपी) अर्यालले संसदीय मर्यादा कायम गर्न आदेश दिएपछि सांसदहरू आफ्नो सिटमा त फर्किए, तर उनीहरूले ती पर्चाहरू आफ्नो शरीरमै टाँसेर बसे । संसद्को इतिहासमा सांसदहरूले यसरी शरीरमै पर्चा टाँसेर विरोध गरेको दृश्य निकै दुर्लभ मानिन्छ ।
हर्क साम्पाङको पार्टीको मुख्य गुनासो नै प्रधानमन्त्री बालेन शाह संसद्मा उपस्थित नभएको र सांसदहरूका प्रश्नको जवाफ नदिएको भन्ने हो । लोकतन्त्रमा संसद् भनेको जनताको सार्वभौम थलो हो र प्रधानमन्त्री संसद्प्रति उत्तरदायी हुनैपर्छ । तर प्रधानमन्त्री बालेन शाह पछिल्ला केही समययता संसद्मा नदेखिने र अध्यादेशमार्फत शासन चलाउन खोजेको आरोप उनीहरूले लगाएका छन् ।
मंगलबारको बैठकमा पनि सभामुखले “तपाईंहरूको ध्यानाकर्षण भएको छ“ भनेर बैठक अगाडि बढाउन खोजे । तर, जब प्रधानमन्त्रीले आफ्ना प्रश्नहरूको जवाफ दिने कुनै छाँटकाँट देखिएन, तब हर्क साम्पांगले एउटा कडा कदम चाले ।
उनले “प्रधानमन्त्रीको जवाफ संसद्मा पाएनौँ“ भन्दै संसद् बैठक नै छाडेर बाहिरिए । लोकतान्त्रिक अभ्यासमा यसरी प्रधानमन्त्रीको खोजी गर्दै सदन छाडेर हिँड्नुले सरकार र प्रतिपक्षीबीचको संवादहीनता कुन बिन्दुमा पुगेको छ भन्ने स्पष्ट पार्छ । यो कदमले प्रधानमन्त्री बालेन शाहमाथि नैतिक दबाब भने पक्कै बढाएको छ ।
बिरोध पछि सोमबारको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि बोल्ने क्रममा पार्टी अध्यक्ष हर्क साम्पाङले अत्यन्तै आक्रामक र अर्थपूर्ण भाषण दिए । उनकोे भाषण सिंहदरबारको राजनीतिदेखि धरानको भुइँमान्छेसम्म जोडिएको थियो ।
उनले सरकारको चर्को आलोचना गर्दै एउटा गम्भीर पञ्चलाइन बोले— ‘संविधान भएको देश, खाने धान नभएको देश, कानुन भएको देश, खाने नुन नभएको देश !’
जनताले गाँस, बास, कपास र सामान्य पूर्वाधार समेत नपाएको भन्दै उनले अर्थमन्त्री र सरकारलाई आफ्ना मागहरू स्मरण गराए उनका मुख्य मागहरू
धरानको क्रोनिक समस्या समाधान गर्न ‘सप्तकोसी धरान खानेपानी आयोजना’ का लागि तत्काल बजेट विनियोजन गरियोस् ।
धरानका सर्दु, सेउती, सेरा र अँधेरी खोलामा तटबन्ध गर्न, फोहोर व्यवस्थापनका लागि ‘स्यानिटरी ल्यान्डफिल साइट’ बनाउन र चतरा–सूर्यकुण्ड लगायतका सडक कालोपत्रे गर्न बजेटको माग गरेका छन् ।
यस्तै भुटानी शरणार्थीहरूको पारिवारिक पुनर्मिलन, मुक्तकमैयाको समस्या समाधान गर्न कार्यदल गठन, र राष्ट्रिय निकुञ्जका श्रेणीविहीन कर्मचारीहरूको पद तोक्नुपर्ने ।
यी त भए नीतिगत मागहरू । तर हर्क साम्पाङले संसद्मा एउटा यस्तो प्रस्ताव राखे, जसले सबैको ध्यान तान्यो । उनले “विगतको आन्दोलनमा क्षति पुगेको सिंहदरबारभित्रको कुनै एउटा संरचनाको पुनर्निर्माण गर्ने अनुमति हाम्रो पार्टीलाई दिइयोस् । हामी सरकारी पैसा नलिई, केवल श्रमदानमार्फत त्यो भवन ठड्याएर देखाइदिन्छौँ । श्रमदानबाटै धरानमा पानी ल्याएका हर्कको यो प्रस्तावले सरकारलाई चुनौती र सन्देश दुवै दिएको छ ।
दर्शकवृन्द, हिजो सडकबाट उदाएका दुई पात्र आज राज्यको सर्वोच्च थलोमा आमनेसामने भएका छन् । एकातिर ’एक्सन’ मा विश्वास गर्ने र कतिपय अवस्थामा कठोर निर्णय लिने प्रधानमन्त्री बालेन शाह छन् । अर्कोतिर भुइँमान्छेको कुरा गर्ने, श्रममा विश्वास गर्ने र प्रश्न सोध्न नडराउने सांसद हर्क साम्पाङ छन् ।
हर्क साम्पाङले उठाएका ’डोजर आतंक’ र ’गरिबलाई मार्न पाइँदैन’ भन्ने नाराले विकासको मोडेल कस्तो हुनुपर्छ भन्ने ठूलो बहस सिर्जना गरेको छ । के गरिबको उठीबास लगाएर गरिने विकास नै साँचो विकास हो ? अर्कोतर्फ, के प्रधानमन्त्री बालेन शाह साँच्चै संसद् र जनताका प्रश्नबाट भाग्न खोजेकै हुन् त ?
श्रम संस्कृति पार्टीले प्रधानमन्त्रीलाई संसद्मा खोज्दै हिँड्नुपर्ने यो अवस्थाले हाम्रो लोकतन्त्र कता जाँदैछ भन्ने गम्भीर प्रश्न उब्जाएको छ ।








