वैशाख ९,२०८३ / ०९ : ५३ अपरान्ह / 2026-04-22 09:53 pm
      • param ad
      • furniture
      • veera Incorporation

      २६ दिनमै गृहमन्त्री सुधन गुरुङको राजीनामा:२६० रोपनी जग्गा र दीपक भट्टसँगको ’कनेक्सन’ को भित्री रहस्य (भिडियोसहित)

      - २ घण्टा अगाडि
      वैशाख ९,२०८३

      गृहमन्त्री सुधन गुरुङले किन दिए राजीनामा ? आखिर कसले फसायो ? २६० रोपनी जग्गा र दीपक भट्टसँगको ’कनेक्सन’ को भित्री रहस्य । 

      गत भदौको ’जेनजी आन्दोलन’ बाट उदाएर सिधै देशको शक्तिशाली गृहमन्त्री बनेका सुधन गुरुङ अन्तत ः २६ दिनमै पदबाट बाहिरिएका छन् । केपी ओलीदेखि रमेश लेखकसम्मका ’हाइप्रोफाइल’ नेताहरूलाई पक्राउ गरेर वाहीवाही कमाएका गुरुङ, आफ्नै अस्वाभाविक सम्पत्ति र विवादास्पद व्यापारीसँगको ’कनेक्सन’ का कारण राजीनामा दिन बाध्य भए ।

      नयाँ अनुहार र सुशासनको नारा दिएर गठन भएको प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकार बनेको एक महिना पनि नपुग्दै २ जना मन्त्रीले पद गुमाइसकेका छन् । आखिर सुधन गुरुङलाई कसले फसायो ? उनी आफैँ फसे कि उनलाई नियोजित रूपमा ’ट्रयाप’ मा पारियो ? र, जेनजी आन्दोलनको आडमा बनेको बालेन सरकारलाई यो कति ठूलो झड्का हो ? आज हामी सुधन गुरुङको उदय र पतन, उनको विवादास्पद सम्पत्ति विवरण, र यसले नेपाली राजनीतिमा पारेको तरंगको विस्तृत विश्लेषण गर्दैछौँ । 

      प्रधानमन्त्री बालेन्द्र शाहको सरकारले जनतामा एउटा ठूलो आशा जगाएको थियो– अब देशमा सुशासन आउँछ । तर सरकार बनेको २६ दिनभित्रै दुईवटा विकेट खसेका छन् ।

      यसअघि, श्रममन्त्री दीपककुमार साहले आफ्नी श्रीमतीलाई बिमा बोर्डको सदस्यमा अनधिकृत रूपमा राखेको भन्दै विवादमा परेपछि १३ दिनमै राजीनामा दिनुपरेको थियो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सिफारिस गरेपछि उनलाई प्रधानमन्त्रीले पदबाट हटाएका थिए ।

      श्रममन्त्रीको विवाद सेलाउन नपाउँदै, सरकारकै सबैभन्दा शक्तिशाली मानिने गृह मन्त्रालयको नेतृत्व सम्हालेका सुधन गुरुङले बुधबार राजीनामा दिए । रास्वपाबाट गोरखा–१ मा चुनाव जितेका र जेनजी आन्दोलनका अगुवा गुरुङको राजीनामाले बालेन सरकारको ’पारदर्शिता’ को दाबीमाथि नै गम्भीर प्रश्नचिन्ह खडा गरिदिएको छ ।

      प्रश्न उठ्छ, त्यति ’एक्सन ओरिएन्टेड’ गृहमन्त्रीले किन एक्कासि राजीनामा दिए त ? विश्लेषणात्मक पाटोबाट हेर्दा यसका मुख्य ३ वटा कारण छन्न् ।

      १. अस्वाभाविक सम्पत्ति र जग्गाको हदबन्दीः

      चैत २९ गते प्रधानमन्त्री कार्यालयले मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक ग¥यो । जसमा सुधन गुरुङ र उनको परिवारको नाममा करिब २६० रोपनी जग्गा, ८९ तोला सुन र ६ किलो चाँदी रहेको देखियो । भूमि सम्बन्धी ऐन अनुसार उनलाई जग्गाको हदबन्दी लाग्ने अवस्था देखियो । यसको विरोध हुँदा गुरुङले उल्टै फेसबुकमा लेखे– “तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो । “ यो भनाइले सर्वसाधारणलाई निकै चिढ्यायो र पछि उनले स्ट्याटस डिलेट गर्नुप¥यो ।

      २. विवादास्पद व्यापारीसँगको ’कनेक्सन’ ः

      राजीनामाको सबैभन्दा ठूलो कारण यही थियो । गुरुङले अहिले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको थुनामा रहेका विवादास्पद व्यापारी दीपक भट्टको कम्पनीमा ५० लाख रुपैयाँ बराबरको सेयर लगानी गरेको तथ्य बाहिरियो । लिबर्टी र स्टार माइक्रो इन्स्योरेन्समा उनले सेयर किनेका थिए । पैसा कहाँबाट आयो भन्दा उनले ’सापटी लिएको’ दाबी गरे, तर जनताले पत्याएनन् । जो व्यक्ति भ्रष्टाचारको आरोपमा थुनामा छ, गृहमन्त्री आफैँ त्यही व्यक्तिको बिजनेस पार्टनर हुनुले ’कन्फ्लिक्ट अफ इन्ट्रेस्ट’ (स्वार्थको बाझिने) अवस्था सिर्जना ग¥यो ।

      ३. ’हामी नेपाल’ संस्थाको पैसा व्यक्तिगत खातामाः

      गुरुङले सञ्चालन गरेको सामाजिक संस्था ’हामी नेपाल’ मा आएको सहयोग रकम उनले संस्थाको नभई आफ्नै व्यक्तिगत खातामार्फत कारोबार गर्ने गरेको रिपोर्टहरू बाहिरिए । यसले उनको व्यक्तिगत आर्थिक पारदर्शितामाथि ठूलो नैतिक प्रश्न उठायो । यही चौतर्फी दबाबका कारण उनले राजीनामा दिन बाध्य हुनुपरेको हो । सुधन गुरुङको २६ दिने कार्यकाल जति विवादित रह्यो, त्यति नै ’एक्सन’ ले भरिपूर्ण पनि ।

      चैत १३ गते मन्त्रालय सम्हालेको भोलिपल्टै उनले गौरीबहादुर कार्की आयोगको सिफारिस भन्दै पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेर तहल्का मच्चाए ।  उनले फेसबुकमा लेखेका थिए । “कानुन भन्दा माथि कोही छैन । यो न्यायको सुरुवात हो ।

      त्यसपछि उनले हाइप्रोफाइल पक्राउको शृंखला नै चलाए । पूर्वमन्त्री दीपक खड्का, व्यवसायी दीपक भट्ट र शंकरलाल अग्रवाल पक्राउ परे । तर अदालतको आदेशले ओली, लेखक लगायत धेरैजसो छुटे । त्यसपछि गुरुङले निराश हुँदै भनेका थिए– “मन्त्रीभन्दा जज शक्तिशाली हुने रहेछ, म अब कानुन पढ्दै छु ।“

      अहिले राजीनामा दिँदै गर्दा पनि गुरुङले निकै दार्शनिक र कडा जवाफ दिएका छन् । फेसबुकमा उनले मिडियामाथि नै प्रश्न उठाउँदै लेखेका छन् “कति मिडियाकर्मी साथीहरूको कहाँ कहाँ स्वेट सेयर छ विस्तारै आउला । रामराज्यको चाहना राख्नेहरूले त्याग र नैतिक साहस पनि देखाउनुपर्छ ।“

      उनले ४६ जना सहिदको बलिदानीबाट बनेको सरकारलाई प्रश्न आउँदा त्यसको जवाफ ’नैतिकता’ भएको भन्दै, निष्पक्ष छानबिनका लागि पद छाडेको घोषणा गरेका छन् । सुधन गुरुङको पतनले नेपालको नयाँ राजनीतिक पुस्तालाई एउटा ठूलो पाठ सिकाएको छ । सडकमा आन्दोलन गर्नु र कुर्सीमा बसेर मन्त्रालय चलाउनु आकाश–जमिनको फरक कुरा हो ।

      गुरुङमा जोश त थियो, तर अनुभव र परिपक्वताको कमी प्रष्ट देखियो । उदाहरणका लागि, गृहमन्त्री जस्तो व्यक्ति गृह–प्रशासन सुधार्न छाडेर भौतिक पूर्वाधार मन्त्रीको शैलीमा नारायणगढ–बुटवल सडक र बिपी राजमार्गको अनुगमन गर्न पुगे । चिनियाँ ठेकेदारलाई हप्काउने काम गृहमन्त्रीको होइन । यसलाई धेरैले ’स्टन्ट’ र सस्तो लोकप्रियताको संज्ञा दिए ।

      निष्कर्षमा भन्नुपर्दा, सुधन गुरुङले राजीनामा दिएर नैतिक दायित्व त पूरा गरेका छन्, जुन पुराना नेताहरूले विरलै गर्थे । तर, पारदर्शीता र सुशासनको ठूलो नारा बोकेर आएका युवा नेताहरू आफैँ व्यक्तिगत आर्थिक अपारदर्शिता र स्वार्थ बाझिने काममा फस्नु भनेको जेनजी आन्दोलन र आम युवाको विश्वासमाथिको गम्भीर धोका हो ।

      बालेन सरकारले अब बाँकी मन्त्रीहरूको छनोट र उनीहरूको कार्यशैलीमा ध्यान नदिने हो भने, यो सरकार पनि पुराना दलहरू भन्दा फरक साबित हुने छैन । सुधन गुरुङको राजीनामालाई तपाईंले कसरी हेर्नुभएको छ ? के उनले नैतिकता देखाएर सही निर्णय गरे, वा उनी साँच्चै गलत मनसायले पदमा पुगेका थिए ? कमेन्ट बक्समा आफ्नो विचार पक्कै राख्नुहोला ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d