शासन कि बिचौलियाको शासन ? गृहमन्त्री सुदन गुरुङमाथि लागेका गम्भीर आरोपहरूको के हो नालीबेली । सुशासन र व्यवस्था परिवर्तनको चर्को नारा दिएर ’जेनजी आन्दोलन’ बाट उदाएका नेता सुदन गुरुङ ।
जो छोटो समयमै देशको गृहमन्त्री जस्तो शक्तिशाली पदमा पुगे । जनताले सोचेका थिए— यी युवा नेताले माफिया र बिचौलियालाई ठेगान लगाउनेछन् । तर विडम्बना ! आज तिनै गृहमन्त्रीमाथि सयौं रोपनी जग्गा लुकाएको, स्रोत नखुलेको ८९ तोला सुन राखेको र सम्पत्ति शुद्धीकरणका अभियुक्तहरूसँग गोप्य व्यापारिक साझेदारी गरेको गम्भीर प्रमाण बाहिरिएको छ ।
आफ्नै सम्पत्ति विवरणमा देशलाई ढाँट्ने गृहमन्त्रीलाई अब प्रधानमन्त्री बालेन शाहले के गलान् ? के सुधन गुरुङको कुर्सी जोगिएला ? गृहमन्त्रीको ’शंकास्पद सम्पत्ति’ को सम्पूर्ण नालीबेली खोतल्नेछौं ।
कुनै बेला सडकमा उभिएर ’शासन कि बिचौलियाको शासन ?’ भन्दै प्रश्न गर्ने सुदन गुरुङ आज आफैं बिचौलियाको घेरामा फसेका छन् । बालेन सरकारका गृहमन्त्री गुरुङले सार्वजनिक गरेको सम्पत्ति विवरण यतिबेला उनको गलामा पासो बनेको छ ।
कुनै सम्पत्ति वा सेयर किन्नु गैरकानुनी होइन । तर सार्वजनिक पदमा बसेको व्यक्तिले कानुनतः त्यसको स्रोत खुलाउनुपर्छ र पारदर्शी हुनुपर्छ । गृहमन्त्री गुरुङ भने यहीँनेर चुकेका छन् । आज हामी तथ्य र प्रमाणका आधारमा गृहमन्त्री गुरुङमाथि उठेका ४ वटा गम्भीर प्रश्नहरूको विश्लेषण गर्दैछौं ।“
“पहिलो प्रश्न— अकुत सम्पत्तिको स्रोत के हो ?
गृहमन्त्री गुरुङले सार्वजनिक गरेको सम्पत्ति विवरण हेर्दा जो कोहीको आँखा च्यातिन्छ । उनले सयौं रोपनी जग्गा आफ्नो सम्पत्तिमा देखाएका छन् । नेपालको कानुनअनुसार एउटा व्यक्ति वा परिवारले राख्न पाउने जग्गाको निश्चित हदबन्दी छ । तर गृहमन्त्रीको जग्गा हदबन्दीभन्दा धेरै बढी छ । हदबन्दीभन्दा बढी जग्गा राज्यले किन अधिग्रहण गरेन भन्ने प्रश्न यहाँ गम्भीर रूपमा उठेको छ ।
त्यति मात्र होइन, उनको सम्पत्ति विवरणमा ८९ तोला सुन र ६ किलो चाँदी उल्लेख छ । साथै, विभिन्न कम्पनीमा करोडौंको सेयर छ । तर अचम्मको कुरा के छ भने, यति धेरै सम्पत्तिको स्रोत उनले स्पष्ट खुलाएका छैनन् । फारममा केवल एकमुष्ट रूपमा ’व्यवसाय, पैतृक सम्पत्ति र लगानी’ भनेर लेखिदिएका छन् । स्रोत नखुलेको सम्पत्ति भ्रष्टाचार वा कालो धन त होइन ? आम नागरिकले प्रश्न गरिरहेका छन् ।“
अब कुरा गरौं दोस्रो र सबैभन्दा डरलाग्दो प्रश्नको— माफियासँगको ’नेक्सस’ र लुकाइएको सेयर ।
गृहमन्त्री गुरुङले दुईवटा माइक्रो इन्स्योरेन्स कम्पनीमा ५० लाख रुपैयाँ बराबरको ५० हजार कित्ता संस्थापक सेयर खरिद गरेको खुलासा भएको छ । कम्पनी रजिस्ट्रारको कार्यालयको विवरणअनुसार उनको नाममा ’लिबर्टी माइक्रोलाइफ इन्स्योरेन्स’ मा २५ हजार र ’स्टार माइक्रोइन्स्योरेन्स’ मा २५ हजार कित्ता सेयर छ । तर, उनले आफ्नो सम्पत्ति विवरणमा यो कुरा पूरै लुकाए ।
यो विषय किन गम्भीर छ भने, यी इन्स्योरेन्स कम्पनीहरूमा दीपक भट्ट, सुलभ अग्रवाल र साहिल अग्रवाल जस्ता व्यापारीहरूको लगानी छ । र यतिबेला तिनै व्यापारीहरू ’सम्पत्ति शुद्धीकरण’ को अभियोगमा प्रहरी हिरासतमा छन् ।
जुन व्यापारीमाथि नेपाल प्रहरीले गम्भीर अनुसन्धान गरिरहेको छ, तिनै व्यापारीको कम्पनीमा प्रहरीको सर्वोच्च कमान्डर अर्थात् गृहमन्त्रीको सेयर हुनु ’स्वार्थको बाझिने’ चरम नमुना होइन र ? आफ्नै व्यापारिक पार्टनरमाथि गृहमन्त्रीले निष्पक्ष छानबिन गर्न देलान् भनेर जनताले कसरी विश्वास गर्ने ?“
“विवाद चर्किएपछि गृहमन्त्री गुरुङले सामाजिक सञ्जालमार्फत एउटा स्पष्टीकरण दिए । तर त्यो स्पष्टीकरणले उनको झुटलाई झनै उदाङ्गो पारिदिएको छ ।
उनले भनेका छन् ’मैले ऋण लिएर सेयर किनेको हुँ । २०८० भदौ २९ गतेको तमसुक छ र बैंकिङ च्यानलमार्फत रकम आएको छ ।’ तर, उनले सरकारलाई बुझाएको आधिकारिक सम्पत्ति विवरणमा सेयर खरिदको स्रोत ’व्यवसाय र पैतृक सम्पत्ति’ भनेका छन्, ’ऋण’ भनेका छैनन् । अफिसियल डकुमेन्टमा एउटा कुरा, फेसबुकमा अर्को कुरा !
उनले बोलेको अर्को ठूलो झुट के हो भने, ’मैले धितोपत्र बजारमा कारोबार हुने सेयर भनेर २ करोड ७४ लाख देखाएको छु, स्टार र लिबर्टी माइक्रोइन्स्योरेन्सको सेयर पनि त्यहीभित्र पर्छ ।’
तर यथार्थ के हो भने— यी दुवै माइक्रोइन्स्योरेन्स कम्पनी अहिलेसम्म आईपीओमा गएकै छैनन् । आईपीओमै नगएको, नेपाल स्टक एक्सचेन्जमा सूचीकृत नै नभएको कम्पनीको सेयर ’दोस्रो बजारमा कारोबार हुने सेयर’ को सूचीमा कसरी पर्छ ? कानुनका जानकारहरू भन्छन् यो राज्यलाई झुक्याउने सीधै किर्ते काम हो ।
“गोरखा–१ बाट निर्वाचित रास्वपा नेता सुधन गुरुङ तिनै व्यक्ति हुन्, जसले रास्वपा र तत्कालीन मेयर बालेन शाहबीच एकता गराउन मुख्य भूमिका खेलेका थिए । तर आज तिनै गुरुङ प्रधानमन्त्री बालेनको लागि सबैभन्दा ठूलो टाउको दुखाइ बनेका छन् ।
आफूलाई आदर्श मान्ने नेताकै यस्तो कर्तुत बाहिरिएपछि अहिले उनकै मातृआन्दोलन ’जेनजी मुभमेन्ट नेपाल’ उनीविरुद्ध सडकमा उत्रिएको छ । मुभमेन्टका प्रवक्ता विजय शाहले प्रधानमन्त्रीलाई चेतावनी दिँदै भनेका छन् ’यो साधारण सरकार होइन, ७६ सहिदको रगतबाट बनेको सरकार हो । स्वार्थ बाझिएको यस्तो अवस्थामा गृहमन्त्रीलाई तत्काल बर्खास्त गरिनुपर्छ ।’
अब बल प्रधानमन्त्री बालेन शाहको कोर्टमा छ ।
याद गर्नुहोस्, आफ्नी श्रीमतीलाई स्वास्थ्य बीमा बोर्डको सदस्यमा नियुक्ति दिलाएको विषय उठ्नेबित्तिकै प्रधानमन्त्री बालेनले श्रममन्त्री दीपक साहलाई ठाउँको ठाउँ बर्खास्त गरेका थिए । श्रममन्त्रीको त्यो सानो गल्तीमा एक्सन लिने प्रधानमन्त्रीले, आज सम्पत्ति शुद्धीकरणका अभियुक्तसँग ’पार्टनरसिप’ गर्ने र राज्यलाई झुटो विवरण बुझाउने गृहमन्त्रीलाई के गर्लान् ? यो बालेन शाहको सुशासनप्रतिको प्रतिबद्धताको सबैभन्दा ठूलो अग्निपरीक्षा हो ।“
राजनीतिमा एउटा भनाइ छ ’सत्ताले मानिसलाई बदल्दैन, मानिसको असली अनुहार देखाउँछ ।’
हिजो सडकमा बिचौलियाको विरोध गर्ने सुदन गुरुङ आज सत्तामा पुगेपछि आफैं त्यही जालोमा फसेका छन ्। यदि देशको गृहमन्त्री नै कालो धनका नाइकेहरूसँग मिलेमतो गर्छन् र आफ्नो सम्पत्ति लुकाउँछन् भने, देशको कानुन र न्याय प्रणालीमाथि जनताले कसरी विश्वास गर्ने ? मन्त्रीको कुर्सीमा बसेर आफ्नै विरुद्धको छानबिनलाई उनले कसरी निष्पक्ष हुन देलान् ?
के सुदन गुरुङले नैतिकताको आधारमा तत्काल राजीनामा दिनुपर्छ ? या प्रधानमन्त्री बालेन शाहले उनलाई बर्खास्त गर्नुपर्छ ?
तपाईंलाई के लाग्छ, तलको कमेन्ट बक्समा आफ्नो अमूल्य विचार पक्कै राख्नुहोला ।








