काठमाडौँ, आजदेखि विक्रम संवत् २०८३ को सुरुआत भएसँगै देशभर नयाँ वर्ष हर्षोल्लासका साथ मनाइँदै छ। वैशाख १ गतेलाई वर्षको पहिलो दिनका रूपमा मनाउँदै नेपालीहरूबीच शुभकामना आदानप्रदान गर्ने, नयाँ योजना बनाउने र नयाँ ऊर्जा सहित अघि बढ्ने परम्परा रहँदै आएको छ।
नयाँ वर्षलाई नयाँ आशा, उत्साह र सुरुआतको प्रतीकका रूपमा लिइन्छ। विश्वका विभिन्न मुलुकहरूमा आ(आफ्नै शैलीमा नयाँ वर्ष मनाउने चलन भए पनि नेपालमा भने विक्रम संवत् अनुसार वैशाख १ गतेलाई विशेष महत्वका साथ मनाइँदै आएको छ। विक्रम संवत् विश्वकै प्राचीन संवत् मध्येको एक मानिन्छ र आज त्यसैको पहिलो दिन हो।
आजकै दिन सूर्य मीन राशिबाट मेष राशिमा प्रवेश गर्ने भएकाले वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्तिका रूपमा पनि यो दिनलाई विशेष महत्व दिइन्छ। सूर्यको गतिमा आधारित भएकाले विक्रम संवत् वैज्ञानिक रूपमा पनि स्थिर र दीर्घकालीन रहेको विद्वानहरूको भनाइ छ।
नयाँ वर्षको पहिलो दिनलाई आत्ममूल्याङ्कनको अवसरका रूपमा पनि लिने गरिन्छ। विगत वर्षका उपलब्धि र कमजोरीहरूको समीक्षा गर्दै आगामी दिनका लागि नयाँ लक्ष्य र योजना तय गर्ने चलन रहेको छ।
यस अवसरमा बिहानै उठेर स्नान गर्ने, घर–आँगन सफा गर्ने, मन्दिरमा पूजाआजा गर्ने, मिठा परिकार खाने तथा आफन्त, साथीभाइसँग भेटघाट गरी शुभकामना साटासाट गर्ने परम्परा छ। स्वदेश मात्र नभई विदेशमा रहेका नेपालीहरूले पनि यस दिनलाई विशेष रूपमा मनाउने गरेका छन्।
भक्तपुरमा आज बिस्का जात्रा मनाइँदै छ भने तराई क्षेत्रमा सहलेश फूल फुल्ने विश्वासका कारण यस दिनको अलग महत्व रहेको छ।
नयाँ वर्षको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव लगायत विशिष्ट व्यक्तित्वहरूले शुभकामना सन्देश दिँदै सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र प्रगतिका कामना व्यक्त गरेका छन्।








