आक्रमणको केहि मिनेट अघि रोकियो युद्ध ! कसरी भयो ट्रम्प र इरानबीच चामत्कारिक सम्झौता ?
कल्पना गर्नुस्, एउटा यस्तो विनाशकारी युद्ध, जसको समयसीमा तय भइसकेको थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशमा इरानमाथि "विनाशकारी बमबारी" सुरु हुन अब मात्र केहि मिनेट बाँकी थियो। नेपाली समयअनुसार बुधबार बिहान ठीक ५:४५ बजे अमेरिकाले इरानमाथि आक्रमण गर्दै थियो। तर, केहि समय अगाडी अचानक एउटा घोषणा हुन्छ— आक्रमण दुई साताका लागि रोकियो !
विश्वलाई तेस्रो विश्वयुद्धको संघारबाट फर्काउने यो चामत्कारिक निर्णय कसरी सम्भव भयो? अमेरिका र इरानजस्ता कट्टर दुश्मनलाई एउटै टेबलमा ल्याउने मध्यस्थकर्ता को थियो? र, के यो साँच्चै शान्तिको सुरुवात हो, वा केवल ठूलो आँधी अघिको सन्नाटा !
आजको यस भिडियोमा हामी ट्रम्पको सर्त, पाकिस्तानको चामत्कारिक इन्ट्री, इरानी जनताले देखाएको अभूतपूर्व देशभक्ति र इजरायलको नयाँ अडानको विस्तृत विश्लेषण गर्नेछौं।
अमेरिका र इरानबीचको तनाव पछिल्ला दिनहरूमा यति खतरनाक मोडमा पुगेको थियो कि, कुनै पनि बेला मध्यपूर्व खरानी हुन सक्थ्यो। तर, अचानक अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सामाजिक सञ्जाल 'ट्रूथ सोसल' मार्फत इरानमाथि हुने भनिएको सैन्य कारबाही २ साताका लागि स्थगित गरेको घोषणा गरे। ट्रम्पले यसलाई “व्यापक युद्धविरामतर्फको प्रारम्भिक कदम” भनेका छन्।
यसको पुष्टि ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले पनि गरेकी छन्। तर इतिहास साक्षी छ, अमेरिका–इरान सम्बन्धमा यस्ता घोषणाहरू दीर्घकालीन शान्ति भन्दा पनि तत्कालीन राजनीतिक स्वार्थ र रणनीतिक विश्रामका लागि गरिन्छन्। सन् २०१५ को परमाणु सम्झौता ट्रम्पकै पालामा तोडिएको थियो। त्यसैले यो दुई साताको अवधिमा दशकौं पुरानो अविश्वास मेटिन्छ भनेर पत्याउनु अलि हतारो हुनेछ।
यस पूरै घटनाक्रममा सबैभन्दा रोचक पक्ष बनेको छ— पाकिस्तानको इन्ट्री।
ट्रम्पको दाबी अनुसार, यो युद्धविरामको निर्णय पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफ र सेना प्रमुख असिम मुनिरसँगको सघन छलफलपछि लिइएको हो। आक्रमणको समयसीमा सकिनु ठीक १० मिनेट अघि पाकिस्तानी प्रधानमन्त्री शरीफले यो युद्धविराम तत्काल प्रभाव'बाट लागू भएको विश्वलाई जानकारी गराएका थिए।
दक्षिण एसियाको एक परमाणु शक्ति राष्ट्र पाकिस्तानले मध्यपूर्वको यति ठूलो संकटमा मध्यस्थता गर्नु आफैंमा एउटा ठूलो कूटनीतिक जित हो। अब आगामी स्थायी सम्झौताका लागि वार्ता पाकिस्तानको राजधानी इस्लामाबादमा हुने तय भएको छ। यदि यो वार्ता सफल भयो भने, अन्तर्राष्ट्रिय कूटनीतिमा पाकिस्तान एउटा शक्तिशाली खेलाडी' को रूपमा स्थापित हुनेछ।
ट्रम्पले यो युद्धविराम बिना सर्त भने दिएका होइनन्। उनले स्पष्ट भनेका छन्— यो युद्धविराम 'सशर्त' हो।
सर्त एउटै छ: इरानले स्ट्रेट अफ होर्मुज' समुद्री मार्ग तत्काल खोल्नुपर्नेछ र जहाजहरूको आवागमनलाई अनुमति दिनुपर्नेछ।
आखिर यो स्ट्रेट अफ होर्मुज' के हो
यो जलमार्ग विश्व अर्थतन्त्रको मुटु हो। विश्वको कुल तेल आपूर्तिको झण्डै २० देखि ३० प्रतिशत हिस्सा यही बाटो हुँदै जान्छ। यदि इरानले यो जलमार्ग बन्द गरिदियो भने, विश्वभर तेलको हाहाकार मच्चिन्छ, मूल्य आकाशिन्छ र यसले विश्वव्यापी आर्थिक मन्दी निम्त्याउँछ। त्यसैले ट्रम्पको यो सर्त सैन्य मात्र नभएर इरानमाथिको गम्भीर आर्थिक र रणनीतिक दबाब हो। इरानले पनि यो सर्त मानेर १० बुँदे शान्ति प्रस्ताव पठाएको बताइएको छ, जसलाई ट्रम्पले वार्ताको व्यावहारिक आधार मानेका छन्।
एकातिर कूटनीतिक टेबलमा छलफल भइरहँदा, इरानको ग्राउन्ड जिरोमा भने अर्कै माहोल थियो। अमेरिकी आक्रमणको डरले इरानी नागरिकहरु भाग्नुको साटो आफ्नो देशको सम्पत्ति बचाउन सडकमा उत्रिए।
इरानी सरकारी टेलिभिजनमार्फत सर्वोच्च परिषद्का सचिव अलिरेजा रहिमीले आह्वान गरेपछि इरानका लाखौं युवा, खेलाडी र सर्वसाधारणले देशका प्रमुख ऊर्जा केन्द्रहरू र पुलहरूको वरिपरि 'मानव साङ्लो' बनाए।
बुशेहरको पारमाणविक केन्द्र, हमदानको शहिद मोफत्तेह पावर प्लान्ट, र अह्वाजको ह्वाइट ब्रिज जस्ता स्थानमा नागरिकहरूले हातमा हात मिलाएर अमेरिकी बमबारीको विरुद्ध ढाल बनेर उभिए। द गार्जियनका अनुसार नागरिक पूर्वाधारमा आक्रमण गर्नु युद्ध अपराध हो। इरानी जनताको यो कदमले अमेरिकालाई नैतिक संकटमा पारिदियो।
इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीको स्वीकृतिमा भएको यो युद्धविरामलाई "इरानको लागि विजय" को संज्ञा दिएको छ। मङ्गलबारको अमेरिकी बमबारीको त्रासले इरानभित्रका कट्टरपन्थीहरूलाई झन् बलियो बनाएको विश्लेषकहरु बताउँछन्।
सबै शान्तिको आश गरिरहँदा इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतन्याहूले भने एउटा नयाँ सर्त अघि सारेका छन्।
इजरायली प्रधानमन्त्री कार्यालयले ट्रम्पको २ साते युद्धविरामलाई समर्थन त गर्यो, तर एउटा कडा चेतावनीसहित। इजरायलले भन्यो— "हामी इरानविरुद्धको कारबाही रोक्न तयार छौं, तर यो सर्तमा कि इरानले स्ट्रेट अफ होर्मुज खोलोस् र अमेरिका तथा इजरायलमाथिका सबै आक्रमण रोकोस्।"
तर, वक्तव्यको अन्त्यमा नेतन्याहूले स्पष्ट पारेका छन्— "यो दुई हप्ताको युद्धविराम लेबनानमा लागू हुनेछैन।"
यसको अर्थ हो, इजरायलले इरानमाथि सिधै आक्रमण नगरे पनि इरान समर्थित लेबनानको हिज्बुल्लाहमाथि भने आफ्नो सैन्य कारबाही जारी राख्नेछ। पाकिस्तानका प्रधानमन्त्रीले लेबनानमा पनि युद्धविराम लागू हुने भनेर गरेको दाबीलाई इजरायलले सिधै खारेज गरिदिएको छ। यसले के प्रष्ट पार्छ भने मध्यपूर्वको आगो अझै पूर्ण रूपमा निभेको छैन।
समग्रमा हेर्दा, ट्रम्पको यो १४ दिने युद्धविरामले तत्कालका लागि विश्वलाई ठूलो विनाशबाट त बचाएको छ। तर, के यो स्थायी शान्ति हो? पक्कै होइन। यो दुवै पक्षले आ-आफ्नो रणनीति तय गर्न र अर्को कदमको तयारी गर्न लिएको 'टाइम-आउट' मात्र पनि हुन सक्छ।
अमेरिका र इरानबीचको गहिरो अविश्वास, इरानभित्रको बदलिँदो नेतृत्व, इजरायलको लेबनान लक्षित आक्रमण र यसमा पाकिस्तानको प्रवेशले यो मुद्दालाई झन् जटिल बनाएको छ। आगामी १४ दिनमा इस्लामाबादमा हुने वार्ताले नै मध्यपूर्वको मात्र नभई सम्पूर्ण विश्वको भविष्य तय गर्नेछ।








