विराटनगर, कोशी प्रदेशमा साना तथा मझौला उद्यमीलाई वित्तीय पहुँच सहज बनाउन एउटा महत्वपूर्ण कदम चालिएको छ । प्रादेशिक साना तथा मझौला उद्यमी कर्जा सुरक्षण कोषमा आबद्ध हुन निक्षेप तथा कर्जा सुरक्षण कोष, ग्लोबल आइएमई बैंक र राष्ट्रिय वाणिज्य बैंकबीच आज औपचारिक सम्झौता भएको हो ।
“उदय–आर्थिक विकासका लागि लगानी र नवप्रवर्तन” परियोजना अन्तर्गत भएको यो सहकार्यले अब साना उद्यमीहरूका लागि लगानीको बाटो अझ फराकिलो बनाउने अपेक्षा गरिएको छ । कोशी प्रदेश सरकार, आर्थिक मामिला तथा योजना मन्त्रालयको आयोजनामा सम्पन्न कार्यक्रममा उदय परियोजना बारे सहभागिहरुलाई भिडियो मार्फत जानकारी गराइएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेशका मुख्यमन्त्री किक्मत कुमार कार्कीले यो पहललाई नेपालकै लागि नयाँ नमुना र आर्थिक क्षेत्रमा परिवर्तन ल्याउने महत्वपूर्ण कदमको रूपमा व्याख्या गरेका छन् ।
यस्तै आर्थिक मामिला तथा योजना मन्त्री विदुर कुमार लिङ्थेपका अनुसार, यस कार्यक्रमले विशेषगरी कम धितोको अभावमा कर्जा लिन नसकिरहेका उद्यमीलाई ठूलो राहत दिनेछ ।
निक्षेप तथा कर्जा सुरक्षण कोषका प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरेले यो सम्झौताले बैंकहरूको कर्जा प्रवाहमा देखिएको संकुचन समेत हटाउने विश्वास व्यक्त गरेका छन् ।
सम्झौतापछि राष्टिय बाणिज्य बैंकका सिओ देवेन्द्र रमण खनालले कार्यक्रमलाई सफल बनाउन पूर्ण प्रतिबद्धता जनाएका छन् ।
यस्तै ग्लोबल आइएमई बैंकका सिओ सुरेन्द्र राज रेग्मीले उदय परीयोजनाको नयाँ पहलको प्रशंसा गर्दै कार्यक्रमलाई सफल बनाउन काम गर्ने प्रतिबद्ध गरे ।
स्विस सरकारको सहयोगमा सञ्चालन भइरहेको उदय परियोजनाले नवप्रवर्तन र लगानी प्रवद्र्धनलाई मुख्य लक्ष्य बनाएको छ । यसै अनुसार अब साना तथा मझौला उद्योगका लागि ३० लाखदेखि ३ करोड रुपैयाँसम्म सहुलियत ब्याजदरमा ऋण उपलब्ध गराइनेछ ।
स्विस सरकारसँगको सहकार्यमा आर्थिक वर्ष २०८२÷०८३ का लागि करिब ८ अर्ब रुपैयाँ बजेट समेत विनियोजन गरिएको छ । अधिकारीहरूका अनुसार, यो पहलले प्रदेशमा उद्यमशीलता वृद्धि, रोजगारी सिर्जना र स्थानीय अर्थतन्त्र सुदृढ बनाउन महत्वपूर्ण योगदान पु¥याउनेछ । कार्यक्रममा विभिन्न बैंकका प्रतिनिधि, सरकारी अधिकारी तथा सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।








