मोरङ, ११६ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर महिला उद्यमी संघ मोरङले विशेष कार्यक्रम आयोजना गर्दै महिला उद्यमशीलतालाई प्रोत्साहन गर्ने उद्देश्यले उपहार आदान–प्रदान तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा विभिन्न क्षेत्रमा सक्रिय महिला उद्यमीहरूको सहभागिता रहेको थियो। सोही अवसरमा विराटनगरकी महिला उद्यमी शान्ति श्रेष्ठलाई विशेष रूपमा सम्मान गरिएको छ। पुराना तथा प्रयोग भइसकेका कपडालाई पुनः प्रयोगमा ल्याउँदै वातावरणमैत्री ढंगले झोला, पर्स लगायत विभिन्न सामग्री निर्माण गर्दै आएकी श्रेष्ठको सिर्जनशीलता र मेहनतको कदर गर्दै महिला उद्यमी संघ मोरङले उनलाई प्रमाणपत्र प्रदान गरी सम्मान गरेको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै महिला उद्यमी संघ मोरङकी अध्यक्ष कृति श्रेष्ठ उपाध्यायले अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा सम्पूर्ण महिला दिदीबहिनीहरूलाई शुभकामना व्यक्त गर्दै महिलाको आर्थिक सशक्तिकरण आजको आवश्यकता भएको बताइन् । उनले समाजमा केही गर्नुपर्छ भन्ने सोच राख्ने महिलाहरूलाई अगाडि बढ्न प्रेरणा दिन संघले निरन्तर काम गरिरहेको उल्लेख गरिन् । अध्यक्ष उपाध्यायले साना तथा घरेलु उद्यममार्फत महिलाहरूले आफ्नो क्षमता प्रदर्शन गर्दै आत्मनिर्भर बन्न सक्ने भन्दै यस्ता गतिविधिले महिलामा आत्मविश्वास बढाउने र समाजमा सकारात्मक सन्देश फैलाउने विश्वास व्यक्त गरिन् ।

यस्तै महिला उद्यमी किरण व्यासले अन्तर्राष्ट्रिय महिला दिवसले महिलाको अधिकार, समानता र सशक्तिकरणका विषयलाई उजागर गर्ने अवसर प्रदान गर्ने भन्दै उनले समाजका सबै तह र वर्गले महिलाको योगदानलाई सम्मान गर्नुपर्ने धारणा पनि व्यक्त गरिन् ।

कार्यक्रममा सहभागीहरूले महिलाको मेहनत, सिर्जनशीलता र उद्यमशीलताको सम्मान गर्दै समाज परिवर्तनमा महिलाको भूमिका अझ महत्वपूर्ण बन्दै गएको बताएका थिए । यस्तो कार्यक्रमले महिलालाई हौसला प्रदान गर्नुका साथै नयाँ उद्यम सुरु गर्न चाहनेहरूलाई प्रेरणा दिने अपेक्षा गरिएको आयोजकले जनाएको छ ।









