काठमाडौं, मध्यपूर्वमा विकसित अस्थिर परिस्थितिका बीच खाडी क्षेत्रमा अलपत्र परेका नेपालीको उद्धारका लागि परराष्ट्र मन्त्रालयले पहल सुरु गरेको छ ।
मन्त्रालयले सञ्चालनमा ल्याएको अनलाइन पोर्टलमार्फत प्रभावित नेपालीको विवरण सङ्कलन भइरहेको छ, जसको प्रचारप्रसार र समन्वय सम्बन्धित दूतावासहरूले गरिरहेका छन् ।
नेपाली दूतावास रियादले नाम दर्ता गर्न अनुरोध गर्दै आवश्यक विवरण उपलब्ध गराउन नेपाली श्रमिकलाई आह्वान गरेको छ । दूतावासका अनुसार नागरिकको अवस्था बुझ्न र आवश्यक कारबाही अघि बढाउन सूचना सङ्कलनका लागि पोर्टल सञ्चालनमा ल्याइएको हो ।
परराष्ट्र मन्त्रालयले तयार पारेको उक्त पोर्टलमार्फत विशेषगरी साउदी अरेबिया र यमनमा रहेका नेपालीको विवरण सङ्कलन गरिनेछ । यसैबीच, विभिन्न राजनीतिक दलसँग सम्बद्ध प्रवासी सङ्घसंस्थाहरूले पनि सहयोगका लागि सम्पर्क व्यक्ति तोकेको जनाएका छन् ।








