नेपालको चुनावी इतिहासमा यतिबेला एउटा यस्तो दृश्य देखिँदै छ, जुन यसअघि कहिल्यै देखिएको थिएन । यो पटकको चुनाव चुनाव जस्तो मात्र छैन, यो त एउटा ’महाभिडन्त’ बन्दै छ ।
अहिले देशको ध्यान र चुनावी माहोल मुख्यतया तीन जना ’हेभीवेट’ नेतामा केन्द्रित छ— नेपाली कांग्रेसका तर्फबाट भावी प्रधानमन्त्रीका रूपमा अघि सारिएका गगनकुमार थापा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट भावी प्रधानमन्त्रीका रूपमा प्रस्तावित बालेन्द्र शाह (बालेन) र नेकपा एमालेका शक्तिशाली अध्यक्ष केपी शर्मा ओली ।
२०४८ सालमा कृष्णप्रसाद भट्टराई र मदन भण्डारीबीचको चुनावी लडाइँ होस् वा २०६४ सालमा प्रचण्डको एकछत्र दबदबा, विगतमा कहिल्यै पनि चुनाव अगावै शक्तिशाली नेताहरूबीच प्रधानमन्त्रीकै कुर्सीका लागि यस्तो सिधा र कडा त्रिकोणीय टक्कर भएको थिएन ।
आज हामी विश्लेषण गर्नेछौँ— चुनावअघि नै प्रधानमन्त्री तोक्ने यो नयाँ राजनीतिक संस्कार कस्तो हो ? गगन, बालेन र ओलीका आ–आफ्ना शक्ति र कमजोरी के–के हुन् ? र, यो महाभिडन्तमा कसले बाजी मार्ला ?
कतिपयलाई लाग्न सक्छ, चुनावअघि नै प्रधानमन्त्री तोकेर भोट माग्न जानु संसदीय प्रणालीको नियमविपरीत हो। किनकि, हाम्रो प्रणालीमा जनताले सांसद चुन्छन् र सांसदहरूले प्रधानमन्त्री ।
तर यो परम्परागत अभ्यास अब पुरानो भइसक्यो । अहिले विश्वभरि नै संसदीय प्रणाली ’प्रधानमन्त्रीय पद्धति’ मा परिणत हुँदै छ । चुनावमा पार्टी एउटा पहिचान मात्र हो, वास्तवमा चुनाव हाँक्ने भनेको नेताले हो । चुनावको बेला जसले जनताको भावनालाई बुझेर जनलहर ल्याउन सक्छ, उही नै असली नेता हो । बन्द कोठाभित्र सांसदहरूको गणित मिलाएर, चलखेल गरेर प्रधानमन्त्री बन्ने पुरानो परिपाटी अब अन्त्य हुनुपर्छ । त्यसैले, पार्टीले चुनाव अगावै आफ्नो ’क्याप्टेन’ अर्थात् भावी प्रधानमन्त्री जनतासामु प्रस्तुत गर्नु लोकतन्त्रका लागि निकै स्वागतयोग्य कदम हो ।
अब कुरा गरौँ, यी तीन मुख्य पात्रहरूको । सबैभन्दा पहिले, नेपाली कांग्रेसका सभापति गगनकुमार थापा ।
गगन थापा राजनीतिमा रातारात उदाएका वा सडकबाट टपक्क टिपिएका नेता होइनन् । विद्यार्थी राजनीतिदेखि सुरु भएको उनको ३० वर्षे लामो र अविचलित राजनीतिक यात्रा छ । आफ्नै पार्टीभित्र शेरबहादुर देउवाको एकाधिकार तोड्न उनले गरेको विद्रोह र पाएको सफलता हामी सबैले छर्लगं देखेका छौँ ।
उनी प्रधानमन्त्री बने भने कस्तो काम गर्लान् भनेर धेरै अनुमान लगाइरहनु पर्दैन । छोटो समय स्वास्थ्य मन्त्री हुँदा होस् वा संसदमा उठाउने आवाजहरूमा, उनको क्षमताको परीक्षण भइसकेको छ । स्पष्ट राजनीतिक भिजन भएका र विपक्षीसँग पनि शालीन संवाद गर्न सक्ने गगन थापालाई कांग्रेसले दिन सक्ने सबैभन्दा योग्य नेता मानिन्छ । तर गगनका लागि यो चुनाव ’गर या मर’ को अवस्थामा छ । यदि कांग्रेसले पहिलो पार्टीको हैसियत ल्याउन सकेन भने, हिजो देउवालाई जाने दोष अब गगनको टाउकोमा आउनेछ । देउवा पक्षले भित्रभित्रै असहयोग गर्ने जोखिम पनि उत्तिकै छ ।
दोस्रो पात्र हुन् — बालेन्द्र शाह (बालेन) ।
काठमाडौं महानगरपालिकाको मेयर बनेदेखि उनी निरन्तर चर्चाको शिखरमा छन् । उनलाई ’जेन–जी’ अर्थात् नयाँ पुस्ताको विद्रोहका नायक मानिन्छ ।
ज्ञानेन्द्र शाहको शासनकालमा स्कुल पढ्दै गरेका बालेन, युवा अवस्थामा एउटा विद्रोही ¥यापर बने । त्यही ¥याप र स्टन्टबाजीले उनलाई युवामाझ चिनायो र २०७९ को चुनावमा उनले काठमाडौंको मेयर जिते । अहिले रास्वपाले युवामाझ रहेको बालेनको त्यही ’क्रेज’ लाई आफ्नो मुख्य चुनावी हतियार बनाएको छ र उनलाई भावी प्रधानमन्त्रीको टिकट दिएको छ ।
तर, बालेनका चुनौती झन् डरलाग्दा छन् । पहिलो— उनी झापा–५ जस्तो कठिन निर्वाचन क्षेत्रबाट चुनाव लड्दैछन् । त्यहाँ हारे भने उनको राजनीतिक यात्रामा पूर्णविराम लाग्न सक्छ । दोस्रो— उनीसँग लामो दलीय संस्कारको अनुभव छैन । रास्वपाको डुंगामा सवार भएका बालेनले त्यो डुंगालाई कति परसम्म हाँक्न सक्छन्, त्यो हेर्न बाँकी नै छ ।
अब कुरा गरौँ तेस्रो तर सबैभन्दा ’हेभीवेट’ पात्रको— नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ।
एकातिर ’नयाँ कि पुरानो’ भन्ने भाष्य निर्माण गरेर कांग्रेस र कम्युनिस्टलाई सिध्याउने खेल भइरहँदा, केपी ओली भने एमालेको बलियो संगठनात्मक जगमा उभिएर फेरि एकपटक देशको नेतृत्व गर्ने दाउमा छन् । ओली नेपाली राजनीतिका त्यस्ता चतुर खेलाडी हुन्, जसलाई कमजोर आँक्नु जो कोहीका लागि घातक हुन सक्छ ।
उनको सबैभन्दा ठूलो हतियार भनेकै उनको वाकपटुता, जनतालाई आकर्षित गर्न सक्ने क्षमता र एमालेको अनुशासित ’ग्राउन्ड’ संगठन हो । विगतमा नाकाबन्दीको डटेर सामना गरेको र ’चुच्चे नक्सा’ जारी गरेको जस्ता राष्ट्रवादी छविका कारण उनको आफ्नै छुट्टै बलियो ’फ्यान बेस’ छ । तर, ओलीका अगाडि पहाडजस्ता चुनौती पनि छन् । दुई–दुई पटक संसद विघटन गरेको आरोप, अघिल्लो कार्यकालमा भएका केही विवादित निर्णय र नेतृत्वमा युवा पुस्तालाई नल्याएको भन्दै उनीमाथि निरन्तर प्रहार भइरहेको छ । ओलीका लागि यो चुनाव सत्तामा पुग्ने भ¥याङ मात्र होइन, आफ्नो राजनीतिक विरासत र सान्दर्भिकता जोगाउने ’अन्तिम लडाइँ’ पनि हो ।
यतिखेर देशमा एउटा भाष्य निर्माण गरिएको छ— कांग्रेस र कम्युनिस्ट भनेका पुराना र काम नलाग्ने हुन्, अनि रास्वपा वा बालेनहरू नयाँ र चामत्कारिक हुन् । तर सत्य के हो भने, आजका नयाँ शक्ति पनि भोलि पुराना हुने नै हुन् । हामीलाई नयाँ वा पुरानो भन्दा पनि ’प्रतिस्पर्धी र उत्तरदायी’ नेतृत्व चाहिएको हो ।
चुनावी अंकगणित हेर्दा, अब यो चुनाव मुख्यतया गगनको ’बदलिएको कांग्रेस’, बालेनको ’नयाँ रास्वपा’ र ओलीको ’अनुशासित एमाले’ बीचको ’त्रिकोणीय महाप्रतिस्पर्धा’ हुने निश्चित छ । मधेशमा जनता समाजवादी र जनमत पार्टीले पनि ठूलो प्रभाव पार्नेछन् ।
अन्त्यमा, हाम्रो निर्वाचन प्रणाली नै यस्तो छ कि आगामी चुनावमा पनि कुनै एउटै पार्टीले प्रत्यक्ष र समानुपातिक दुवैतर्फ मिलाएर स्पष्ट बहुमत (१३८ सिट) ल्याउने सम्भावना अत्यन्तै न्यून छ ।
यसको सिधा अर्थ हो— चुनावपछि फेरि पनि मिलीजुली अर्थात् गठबन्धन सरकार नै बन्नेछ । तर, अब राजनीतिक इमानदारी देखाउने हो भने एउटा नयाँ अभ्यास सुरु गर्नुपर्छः जसले चुनावमा पहिलो पार्टी बन्छ, उसैले सरकार चलाउने र दोस्रो ठूलो पार्टी रचनात्मक प्रतिपक्षमा बस्ने ।
दर्शकवृन्द, तपाईंलाई के लाग्छ ? यो चुनावपछि देशको बागडोर कसको हातमा जाला ? अनुभवी र स्पष्ट भिजन भएका गगन थापा, नयाँ पुस्ताका विद्रोही बालेन शाह, कि राजनीतिको चतुर खेलाडी केपी शर्मा ओली ? आफ्नो अमूल्य विचार तल कमेन्ट बक्समा पक्कै लेख्नुहोला ।








