विराटनगर, कोशी प्रदेशका साना तथा मझौला उद्यमीहरूको व्यवसायिक यात्रालाई डिजिटल माध्यमबाट नयाँ उचाइमा पु¥याउने दिशामा उदय परियोजनाले उल्लेखनीय कदम चालेको छ । उद्यमशीलता, प्रविधि र वित्तीय पहुँचलाई एउटै सूत्रमा बाँध्ने उद्देश्यसहित विकास गरिएको डिजिटल सूचना पोर्टलले प्रदेशका उद्यमीहरूबीच आशा र उत्साह थपेको छ ।

यही सन्देशसहित महिला उद्यमी संघ मोरङ च्याप्टरको आयोजनामा सम्पन्न ‘वुमन इन बिजनेश’ सिरीज–४ को प्रदर्शनी कार्यक्रममा उदय परियोजनाका सहजिकरण इकाइका मोहन गौतम र भुषिता बासिस्टले कोशी प्रदेशका साना तथा मझौला उद्यमीहरूका लागि विकसित डिजिटल सूचना पोर्टलबारे विस्तृत जानकारी गराएका थिए ।

उक्त पोर्टल व्यवसाय विकास सेवामा सहज पहुँच र वित्तीय समावेशीकरणलाई प्रवद्र्धन गर्ने उद्देश्यले उदय परियोजनाले विकास गरेको डिजिटल प्लेटफर्म हो । यसले उद्यमीहरूलाई व्यवसाय परामर्श, कर्जा प्रक्रियासम्बन्धी जानकारी तथा विभिन्न सेवा प्रदायकहरूसँग जोड्ने काम गर्दछ ।
उक्त प्रदशनिमा सहभागीमध्य इच्छुक महिला उद्यमीहरूको डिजिटल सूचना पोर्टलमार्फत प्रत्यक्ष दर्ता समेत गराइएको थियो ।

उदय परियोजनाले ल्याएको यो कार्यक्रम महिला उद्यमीको हित केन्द्रित भएकाले डिजिटल सूचना पोर्टल के हो, कसरी दर्ता गर्ने, र कर्जा प्रक्रिया कसरी अघि बढाउने भन्ने विषयमा भिडियो प्रस्तुतिमार्फत स्पष्ट र व्यवहारिक जानकारी प्रदान गरिएको सहजिकरण इकाइका मोहन गौतमले बताए ।
उनका अनुसार, “डिजिटल सूचना पोर्टलले महिला उद्यमीहरूलाई बैंकसम्म पुग्नु अघि नै आवश्यक कागजात, व्यवसाय योजना र परामर्श सेवामा सहज पहुँच दिन्छ, जसले व्यवसाय विस्तारलाई सरल बनाउँछ ।”

कार्यक्रममा ४० भन्दा बढी महिला उद्यमीहरूको सहभागिता रहेको थियो । सहभागी उद्यमीहरूले उदय परियोजनाले विकास गरेको यो डिजिटल पोर्टलमार्फत आफ्नो व्यवसाय प्रवद्र्धन र विस्तार गर्न सकिने विश्वास व्यक्त गर्दै खुशी प्रकट गरेका थिए । धेरै उद्यमीहरूले अब डिजिटल माध्यमबाट सेवा पाउनु आफूहरूका लागि समय र लागत दुवै बचत हुने बताएका छन् ।

कोशी प्रदेशको उद्यमशील वातावरणलाई डिजिटल प्रणालीसँग जोड्दै अघि बढाउने उदय परियोजनाको यो पहल साना तथा मझौला उद्यम क्षेत्रका लागि दीर्घकालीन परिवर्तनको आधार बन्ने अपेक्षा गरिएको छ । डिजिटल सूचना पोर्टलमार्फत उद्यमशीलता, प्रविधि र वित्तीय पहुँचबीचको दूरी घट्दै जाँदा, प्रदेशको आर्थिक विकासमा नयाँ ऊर्जा थपिने विश्वास आयोजक र सहभागी दुवैले गरेका छन् ।









