माघ २९,२०८२ / ०४ : १८ पूर्वान्ह / 2026-02-12 04:18 am
      • param ad
      • furniture
      • veera Incorporation

      विन मोरङको आयोजनामा ‘वुमन इन बिजनेश’ सिरीज–४ को प्रदर्शनी भव्य रूपमा सम्पन्न

      - १ दिन अगाडि
      माघ २७,२०८२

      विराटनगर, महिला उद्यमशीलताको प्रवद्र्धन, जगेर्ना र सशक्तीकरण गर्ने उद्देश्यका साथ महिला उद्यमी संघ नेपाल, मोरङ च्याप्टरको आयोजनामा ‘वुमन इन बिजनेश’ चौथो शृङ्खलाको एकदिने प्रदर्शनी कार्यक्रम सोमबार विराटनगरमा भव्य रूपमा सम्पन्न भएको छ ।

      हरेक वर्षझैं यस वर्ष पनि आयोजित उक्त प्रदर्शनीमा कोशी प्रदेशका महिला उद्यमीहरूको सिर्जनशीलता, उपलब्धि र मौलिक संस्कृतिलाई प्रतिबिम्बित गर्ने विविध सामग्रीहरू प्रदर्शन गरिएको थियो । महिला उद्यमशीलतालाई व्यवसायिक पहिचान दिलाउने र बजारसँग जोड्ने उद्देश्यले चौथो पटक आयोजना गरिएको यस प्रदर्शनीले सहभागी उद्यमीहरूलाई थप उत्साहित बनाएको छ । 

      प्रदर्शनीको उद्घाटन गर्दै महिला उद्यमी महासंघ नेपालकी अध्यक्ष दर्शना श्रेष्ठले यस्ता मेला–प्रदर्शनीहरूले महिलाहरूलाई उद्यमी बन्न प्रेरणा दिने मात्र नभई, उनीहरूको व्यवसाय विस्तारमा महत्वपूर्ण भूमिका खेल्ने बताइन् । उनले यस्ता खालका महिलालाई आत्मनिर्भर बनाउने अभियान निरन्तर हुनुपर्ने धारणा राखिन् ।

       उद्घाटन सत्रकै अवसरमा महिला उद्यमी संघ नेपाल, मोरङ च्याप्टरले विभिन्न क्षेत्रका सफल व्यक्तित्वहरूलाई प्रोत्साहन स्वरूप सम्मान समेत गरेको थियो । कार्यक्रमबारे जानकारी दिँदै संघकी अध्यक्ष कृति श्रेष्ठले प्रदर्शनीले महिला उद्यमीहरूलाई आफ्नो उत्पादनलाई कसरी बजारसम्म पु¥याउने र उपभोक्तामाझ चिनाउने भन्ने विषयमा महत्वपूर्ण सिकाइ दिएको बताइन् । 

      उनले आगामी वर्षहरूमा अझै बृहत् र व्यवस्थित ढंगले प्रदर्शनी आयोजना गर्ने योजना रहेको समेत जानकारी गराइन् । यस्तै प्रदर्शनीको उद्घाटन सत्रमा उदय परियोजनाका सहजिकरण इकाईका मोहन गौतम र भुषिता बासिस्टले कोशी प्रदेशका साना तथा मझौला उद्यमीहरूका लागि विकसित डिजिटल सुचन पोर्टल बारे जानकारी गराइएका थियो । 

      उक्त पोर्टल व्यवसाय विकास सेवा पहुँच र वित्तीय समावेशीकरणलाई सहज बनाउन उदय परियोजनाले विकास गरेको डिजिटल प्लेटफर्म हो । सोही अवसरमा इच्छुक महिला उद्यमीहरूको पोर्टलमार्फत प्रत्यक्ष दर्ता समेत गराइएको थियो । 

      प्रदर्शनीको मुख्य आकर्षणका रूपमा महिला उद्यमीहरूले उत्पादन गरेका सामग्रीका २० वटा स्टलहरू राखिएका थिए । स्टलहरूमा विभिन्न खाद्यान्न परिकार, कृषि उत्पादन, हस्तनिर्मित सामग्री, गार्मेन्ट, आर्ट तथा अन्य सिर्जनात्मक वस्तुहरू प्रदर्शित गरिएको थियो । 

      प्रदर्शनी अवलोकन गर्न दुई सयभन्दा बढी आगन्तुकहरूको सहभागिता रहेको आयोजकले जनाएको छ । प्रदर्शनी अवलोकन गर्न आएका आगन्तुकहरूले महिला उद्यमीहरूले उत्पादन गरेका सामग्रीलाई रुचाउँदै उल्लेख्य मात्रामा खरिद गरेपछि उद्यमीहरू उत्साहित देखिएका थिए । 

      पटक–पटक यस्ता मेला–प्रदर्शनी आयोजना गरी आफूहरूलाई बजारसँग जोड्ने अवसर प्रदान गरिएकोमा महिला उद्यमीहरूले आयोजकप्रति खुशी व्यक्त गरेका छन् । 

      कार्यक्रममा विशेष अतिथि महिला उद्यमी महासंघ नेपालकी तृतीय उपाध्यक्ष महालक्ष्मी श्रेष्ठ, सचिव डिकिला लामा तथा विभिन्न क्षेत्रका सहभागीहरूले प्रदर्शनीको प्रशंसा गर्दै यसलाई निरन्तरता दिनुपर्ने सुझाव दिएका थिए । 

        सम्बन्धित समाचारहरु