काठमाडौं, माइक्रोफोन, क्यामेरा र कलम समातेका पत्रकारहरू अब मत माग्दै जनतामाझ पुगेका छन् । लामो समय सत्ता र राजनीतिमाथि प्रश्न उठाउँदै आएका पत्रकारहरूका लागि यो निर्वाचन सबैभन्दा ठूलो अग्निपरीक्षा बनेको छ । २०७९ कै चुनावमा चितवन–२ बाट दुईपटक विजयी भइसकेका रवि लामिछाने फेरि सोही क्षेत्रबाट प्रतिस्पर्धामा छन् ।
पत्रकारिताबाट उदाएका लामिछाने आज राष्ट्रिय राजनीतिमा प्रभावशाली अनुहार बनेका छन् । यद्यपि विवाद पनि उनको यात्राको हिस्सा रहँदै आएको छ । उता, तीन दशक पत्रकारिता गरेका ऋषि धमला रौतहट–४ बाट उम्मेदवार बनेका छन् । नेपाली कांग्रेस निकट देखिँदै आएका धमला मधेश केन्द्रित दलबाट मैदानमा उत्रिनुले उनको राजनीतिक रूपान्तरणलाई चासोको विषय बनाएको छ ।
यस्तै बीबीसी नेपाली सेवामा लामो समय काम गरेका रविन्द्र मिश्र काठमाडौं क्षेत्र नम्बर १ बाट तेस्रोपटक चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्। बौद्धिक, मध्यमवर्गीय र नीतिगत बहसमा आधारित राजनीतिक पहिचान बनाएका मिश्रका लागि यो निर्वाचन लोकप्रियता होइन, स्थायित्व को परीक्षा हो।
अघिल्ला चुनावमा पराजय भोगेका मिश्रले यसपटक जनतासँगको दूरी घटाउन कति सफल हुन्छन् भन्ने प्रश्न मुख्य बनेको छ । कुनै समय प्रिन्ट र टेलिभिजन पत्रकारितामा स्थापित स्वागत नेपाल झापाबाट उम्मेदवार बनेका छन् । स्पष्ट बोल्ने र सत्ता आलोचक छविका कारण चर्चामा आएका स्वागतका लागि यो चुनाव मिडिया पहिचानलाई मतमा रूपान्तरण गर्ने चुनौती हो ।
अघिल्लो निर्वाचनमा झिनो मतान्तरले पराजित भएका उनी यसपटक पुनः आफूलाई स्थापित गर्न चाहन्छन् । २५ वर्ष टेलिभिजन पत्रकारितामा बिताएका जगदीश खरेल जेन–जी आन्दोलनपछि बनेको अन्तरिम सरकारमा सञ्चार तथा सूचना प्रविधि मन्त्री बनेर व्यवहारिक सत्ता अनुभव गरिसकेका नेता हुन् ।
मन्त्री पद छोडेर ललितपुरबाट चुनाव लड्न उत्रिएका खरेलका लागि यो निर्वाचन सैद्धान्तिक पत्रकारिताबाट कार्यकारी नेतृत्वतर्फको यात्रामा जनताको अनुमोदन हो । यस्तै दोलखाबाट अजयबाबु शिवाकोटी जन्मदेव जैसी भक्तपुर–२ देखि डा. बिक्रम तिमिल्सिना (नुवाकोट–१) सम्म—यसपटक पत्रकारिताबाट राजनीतिमा प्रवेश गर्नेहरूको सूची लामो छ ।
कसैले सत्ता सम्हालेर चुनाव लड्दैछन्, कसैले हारको घाउ बोकेर पुनः मैदानमा उत्रिएका छन् । कतिपयका लागि यो पहिलो जनमत परीक्षण हो भने कतिपयका लागि राजनीतिक अस्तित्वको प्रश्न । पत्रकारिता र राजनीतिमा प्रश्न गर्ने शैली उस्तै देखिए पनि जनताको मत जित्नु फरक खेल हो ।
अब प्रश्न स्पष्ट छ :
स्टुडियोमा प्रभाव जमाएका यी अनुहारहरू मतपेटिकामा पनि उस्तै प्रभाव जमाउन सक्छन् कि सक्दैनन् ? यसको उत्तर फागुन २१ ले दिनेछ ।








