काठमाडौं, युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले पदबाट राजीनामा दिएका छन् । फागुन २१ गते हुने निर्वाचनमा उम्मेदवारी दिने तयारीसँगै उनले प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएका हुन् ।
२८ वर्षीय गुप्ता कात्तिक ९ गते मन्त्री नियुक्त भएका थिए । सामाजिक अभियान्ताका रूपमा परिचित उनी सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा समावेश हुँदै सबैभन्दा कान्छा मन्त्री बनेका थिए ।
विभिन्न सामाजिक आन्दोलनको अगुवाइ गरेका गुप्ता जेन–जी आन्दोलनपछि गठन भएको सरकारमा मन्त्री बनेका हुन् । मन्त्रीको कार्यकालमा उनले युवाको वृत्तिविकास र खेलकुद क्षेत्रलाई प्राथमिकतामा राख्दै केही उल्लेखनीय पहल अघि बढाएका थिए ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट चुनावी प्रतिस्पर्धामा उत्रिन गुप्ता हाल जनकपुर पुगेका छन् । राजीनामापछि पूर्ण रूपमा चुनावी तयारीमा जुटेको उनले बताएका छन् । सोमबार सार्वजनिक बिदा परेकाले उनको राजीनामा औपचारिक रूपमा भने अझै स्वीकृत भइसकेको छैन ।
सिराहा स्थायी घर भएका गुप्ताको राजीनामाले युवा राजनीति र खेलकुद क्षेत्रको नेतृत्वमा नयाँ बहस सिर्जना गरेको छ ।








