काठमाडौं, कोशी प्रदेशका साना तथा मझौला उद्यमीहरूका लागि वित्तीय पहुँच, व्यवसाय विस्तार र रोजगारी सिर्जनाको नयाँ सम्भावना बोकेर उदय परियोजना उदाउँदै छ । यही लक्ष्यसहित उदय परियोजना सञ्चालनका लागि साझेदार बैंकका रूपमा राष्ट्रिय वाणिज्य बैंक र उदय परियोजनाबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । यसै अवसरमा उदय परियोजनाले उद्यमीहरूका लागि व्यवसाय सञ्चालन तथा कर्जा प्रक्रिया सहज बनाउने उद्देश्यले विकास गरेको डिजिटल इन्फरमेसन पोर्टलको पनि औपचारिक शुभारम्भ गरेको छ ।
राष्ट्रिय वाणिज्य बैंक र उदय परियोजनाबीच कोशी प्रदेशका विभिन्न साना तथा मझौला उद्यमहरूलाई सहज वित्तीय पहुँच उपलब्ध गराउने उद्देश्यले सहकार्य गर्ने सहमति भएको हो । समझदारी पत्रमा उदय परियोजना व्यवसाय विकासका प्रबन्धक विष्णु काफ्ले र राष्ट्रिय वाणिज्य बैंकका कोशी प्रदेश प्रमुख हेमराज खरेलले संयुक्त रूपमा हस्ताक्षर गरेका छन् । समझदारीपछि कोशी प्रदेशमा सञ्चालित साना तथा मझौला उद्यमहरूलाई सहज रूपमा कर्जा प्रवाह हुने, लगानीको अभावमा व्यवसाय विस्तार गर्न नसकेका उद्यमीहरूलाई नयाँ अवसर प्राप्त हुने र व्यवसाय विस्तारसँगै रोजगारी वृद्धि हुने विश्वास लिइएको राष्ट्रिय वाणिज्य बैंकका प्रदेश प्रमुख खरेलले बताए ।
यस्तै काफ्लेले कार्यक्रमलाई सम्बोधन गर्दै, अब उदय परियोजनामार्फत कोशी प्रदेशका साना तथा मझौला उद्यमीहरूलाई व्यवसाय स्थापना, सञ्चालन र विस्तारका हरेक चरणमा आवश्यक सहयोग उपलब्ध गराइने स्पष्ट पारे । यस्तै कार्यक्रमका प्रमुख अतिथी कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले डिजिटल इन्फरमेसन पोर्टलकोे शुभारम्भ गरेका थिए ।

शुभारम्भ कार्यक्रममा मन्त्री मगरले अब साना तथा मझौला उद्यमका लागि कोशी प्रदेशमा सकारात्मक वातावरण बन्दै गएको उल्लेख गर्दै उदय परियोजनामार्फत उद्यमीहरूलाई वास्तविक लाभ पुग्ने विश्वास व्यक्त गरे । यस पोर्टलमार्फत कोशी प्रदेशभित्रका साना तथा मझौला उद्यमीहरूले सरल र सहज रूपमा अनलाइन दर्ता गरी परियोजनासँग आबद्ध हुन सक्नेछन्, जसले उनीहरूलाई वित्तीय पहुँच, परामर्श सेवा र व्यावसायिक अवसरसँग प्रत्यक्ष रूपमा जोड्नेछ ।
त्यस्तै, कोशी प्रदेशका सचिव कोशहरि निरौलाले परियोजनाको उद्देश्य, कार्यविधि र दीर्घकालीन प्रभावबारे स्पष्ट पारे । नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय पहलस्वरूप तथा कोशी प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयको नेतृत्वमा र डिएआई–उदय परियोजनाको प्राविधिक सहयोगमा सबै जिल्लामा सञ्चालन हुँदै आएको छ ।

परियोजनाले नवीकरणीय ऊर्जा, कृषि प्रशोधन, सूचना प्रविधि, पर्यटन तथा उत्पादनमूलक उद्योगजस्ता क्षेत्रका व्यवसायहरूलाई कर्जा उपलब्धता र व्यावसायिक उन्नतिका लागि सहज वातावरण बनाउँदै आएको छ । कार्यक्रममा स्विस सरकार विकास सहयोगका प्रतिनिधि आयुस राई, नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष राजेन्द्र केशरी घिमीरे लगायतले उदय परियोजनाको पहलले कोशी प्रदेशको उद्यमशीलता विकासमा महत्वपूर्ण भूमिका खेल्ने धारणा राखे ।
राष्ट्रिय वाणिज्य बैंकसँगको सहकार्य, डिजिटल पोर्टलको सुरुवात र नीतिगत सहजीकरणमार्फत उदय परियोजना कोशी प्रदेशका साना तथा मझौला उद्यमीहरूका लागि नयाँ सम्भावनाको केन्द्र बन्दै गएको स्पष्ट सन्देश प्रवाह भएको छ ।









