बारा, बाराको सिमरामा निरन्तर बढिरहेको तनाव रोकिन नसकेपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन चार राउन्ड अश्रुग्यास र दुई राउन्ड हवाई फायर गरेको छ ।
एमालेनिकट युवा संघ र जेन–जी समूहाबीचको झडप, तोडफोड तथा प्रदर्शन तीव्र बन्दै गएपछि स्थानीय प्रशासनले आज पनि कफ्र्यु आदेश जारी गरेको थियो । तर कफ्र्युका बीचमै बाराजेन–जी समूहका प्रदर्शनकारी सडकमा उत्रिएपछि अवस्था झन् जटिल बनेको हो ।
बुधबारको झडपपछि केही समय शान्त देखिएको सिमरा क्षेत्र आज पुनः अस्थिर बनेपछि प्रशासनले राति ८ बजेसम्म कफ्र्यु लागू गरेको छ ।
प्रदर्शन नियन्त्रणका क्रममा एक डीएसपी, इन्स्पेक्टर, असई र हवल्दार गरी चार जना प्रहरी घाइते भएको जानकारी आएको छ ।
बुधबार जेन–जी युवामाथि भएको आक्रमणका दोषीलाई नियन्त्रणमा लिनुपर्ने माग गर्दै प्रदर्शनकारीहरू निरन्तर दबाब दिइरहेका छन् । प्रहरीले हालसम्म दुई जना वडाध्यक्षलाई पक्राउ गरेको छ ।








