काठमाडौं, गृहमन्त्री ओमप्रकाश अर्यालले देशभर बढ्दो शीतलहर र हिमपातको जोखिम व्यवस्थापनका लागि सबै निकायको सहकार्य अपरिहार्य रहेको बताएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणद्वारा आयोजित ‘विपद् संवाद’ कार्यक्रममा मन्त्री अर्यालले यस्तो मौसमीय जोखिमले विशेष गरी बृद्धबृद्धा, बालबालिका, गर्भवती, अपाङ्गता भएका व्यक्ति र विपन्न वर्ग बढी प्रभावित हुने बताए ।
उहाँले स्थानीय तह, स्वास्थ्य सेवा संस्था, जिल्ला अस्पताल तथा मोबाइल स्वास्थ्य टोलीलाई पूर्वतयारी अवस्थामा रहन निर्देशन दिए । आवश्यक औषधि, न्यानो पोसाक, सामग्री तथा सुरक्षित आश्रयस्थलको पूर्व भण्डारण गर्न स्थानीय तहलाई आग्रह गर्दै मन्त्री अर्यालले सरकारले मात्र चुनौती व्यवस्थापन गर्न नसक्ने भन्दै सरकारी–गैरसरकारी, विकास साझेदार र निजी क्षेत्र बीच बलियो समन्वय आवश्यक भएको बताए ।
प्राधिकरणका कार्यकारी प्रमुख इ. दिनेश भट्टले योजनाको प्रभावकारी कार्यान्वयनमा प्राधिकरण प्रतिबद्ध रहेको बताउँदै जोखिमयुक्त क्षेत्र पहिचान, जोखिम सूचना प्रवाहका लागि सञ्चार च्यानल पहिल्यै निश्चित गर्ने तथा राहत सामग्री पहिले नै भण्डारण गर्नुपर्नेमा जोड दिए ।
महोत्तरी, मनाङ, सोलुखुम्बु र रौतहटका प्रमुख जिल्ला अधिकारीहरूले पनि कार्यक्रममा आफ्ना जिल्लामा शीतलहर तथा हिमपातको जोखिम र तयारीबारे जानकारी दिएका थिए ।








