काठमाडौं, काठमाडौं उपत्यकाको फोहोर विसर्जन फेरि अवरुद्ध बनेको छ, बञ्चरेडाँडा ल्यान्डफिल साइटका स्थानीय पुनः आन्दोलित भएपछि फोहोर फाल्ने प्रक्रिया रोकिएको हो ।
काठमाडौं महानगरका वातावरण व्यवस्था विभाग प्रमुख सरिता राईका अनुसार स्थानीयले आजदेखि आन्दोलन सुरु गर्ने जानकारी पहिल्यै गराएकाले फोहोर बोकेका सयौँ गाडी काठमाडौंमै रोकिएका छन् ।
स्थानीयले बस्तीलाई तीनदेखि चार हजार मिटर टाढा सार्नुपर्ने, फोहोरलाई कुहिने–नकुहिने छुट्याएर मल कारखाना सञ्चालन गर्नुपर्ने र गुठी संस्थानको जग्गा ९० प्रतिशत उपभोग गर्न पाउने अधिकार सुनिश्चित गर्नुपर्ने माग राख्दै आएका छन् । यो माग कात्तिक १६ गते शहरी विकासमन्त्री कुलमान घिसिङले १५ दिनभित्र पूरा गर्ने मौखिक प्रतिवद्धता जनाए पनि सरकारको आश्वासन पटक–पटक अधुरै रहेको भन्दै उनीहरू आन्दोलित बनेका हुन् ।
धुनिवेशी नगरपालिका–१ का अध्यक्ष मानबहादुर तामाङका अनुसार, अहिलेसम्म स्थानीयसँग १७४ वटा सम्झौता भए पनि एक पनि पूर्ण कार्यान्वयन नभएको आरोप स्थानीयको छ ।
यस बीच, ऊर्जा, जलस्रोत तथा सिचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकासमन्त्री कुलमान घिसिङले आन्दोलनकारीलाई टेलिफोन गर्दै प्रतिबद्धताहरू कार्यान्वयनको प्रक्रियामा भइसकेकाले फोहोर फाल्न अवरोध नगर्न र आन्दोलनका कार्यक्रम फिर्ता लिन आग्रह गरेका छन् ।








