काठमाडौं, दुर्गा प्रसाई लाई जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेका छन् । भक्तपुरस्थित उनकै घरबाट प्रसाईंलाई पक्राउ गरेको प्रहरी स्रोतले जानकारी दिएको छ ।
उनलाई हिंसा भड्किने गरी अराजक गतिविधि गर्न अभिव्यक्ति दिएको आरोपमा सोमबार मध्यरातमा पक्राउ गरिएको हो ।
राजावादी गतिविधिमा संलग्न प्रसाईं बैंकबाट लिएको ऋण मिनाहा गरिदिनुपर्ने लगायत माग राख्दै आन्दोलनको तयारीमा थिए ।
प्रसाईंलाई प्रहरीले पक्राउ गरेको विरोधमा मंसिर ७ गते प्रदर्शन गर्ने घोषणा गरिए पनि नागरिक बचाउ दलले आजैबाट संघर्षका कार्यक्रम सुरु गर्ने घोषणा गरेको छ । नागरिक बचाउ दलका महामन्त्री प्रेमकुमार थाम्सुहाङले प्रसाईलाई मध्यराति अपहरण शैलीमा पक्राउ गरेर सरकारले शान्ति भंग गरेको भनेका छन् ।
उनले आजैबाट देशव्यापी आन्दोलनमा उत्रिँने बताएका छन् । आज दलले जिल्ला प्रशासन कार्यालयमा ध्यानाकर्षणपत्र बुझाउने र देशव्यापी प्रदर्शन सुरु गर्ने महामन्त्री थाम्सुहाङले बताए ।
उनले प्रसाईंलाई तत्काल, विना सर्त र ससम्मान रिहाइको माग गरेका छन् । यदि माग पुरा नभए वर्तमान सरकारको अन्त्य सडकबाटै गर्ने चेतावनी दिएका छन् ।








