इटहरी, सुनसरीमा गोली प्रहार गरेर एकजना सिटी सफारी चालकको हत्या गरिएको छ ।
रामधुनी नगरपालिका–२ तनमुनास्थित सडकमा ४७ वर्षीय सिटी सफारी चालक दिनेशकुमार चौधरीलाई गोली हानेर हत्या गरिएको हो ।
नगरको भित्री सडकखण्डमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको प्र. १–०२–००४ ह ७८०४ नम्बरको सिटी सफारी चलाइरहेका उनको बायाँ छातीमा गोली हानिएको छ ।
मोटरसाइकलमा आएका तीनजनाको समूहले गोली हानेर हत्या गरेका खुलेको छ । उनीहरूको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय पकलीका प्रहरी निरीक्षक लेखनाथ दाहालले शनिबार साँझ साढे ५ बजेतिर घटनाबारे प्रहरीलाई जानकारी आएको बताएका छन् ।








