आज बिहान ८ : ५० बजेतिर बाराको सिम्रौनगढ नगरपालिकाको नयाँ भवनको दक्षिणतर्फ तिहारको तयारीको लागि माटो खन्ने क्रममा ढिस्कोमा पुरिएर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिम्रौनगढ नगरपालिका-६ की ७० वर्षीया सारदा देवी महतो र वडानम्बर ५ बस्ने १५ वर्षीय सुनिल महतो रहेको प्रहरीले जनाएको छ ।
ढिस्कोमा ८ जना परेका थिए जसमध्ये दुई जनाको मृत्यु भएको हो । अन्य ६ जना भने घाइते छन् । जिल्ला प्रहरी कार्यालय बाराका अनुसार घाइते हुनेहरूमा वडानम्बर ६ का १४ वर्षीय साजन महतो, १८ वर्षीय गौतम मुखिया, वडानम्बर ५ का १५ वर्षीय नितेश महतो, १४ वर्षीया रानीकुमारी महतो र सुशीला कुमारी र १५ वर्षीय राजाबाबु शर्मा रहेका छन् । घाइतेहरूको उपचार प्रादेशिक अस्पताल, कलैयामा भइरहेको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।








